Logo

७ माघ, वीरगञ्ज । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पर्सा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा पूर्वमन्त्रीहरूको उम्मेदवारीले राजनीतिक सरगर्मी ह्वात्तै बढेको छ ।

एकातिर ‘जेनजी’ पुस्ताले राजनीतिमा नयाँ अनुहारको खोजी गरिरहेका बेला अर्कोतर्फ जिल्लाका चारवटै क्षेत्रमा एक-एक जना प्रभावशाली पूर्वमन्त्रीहरू पुनः आफ्नो विरासत जोगाउन चुनावी मैदानमा होमिएका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्साका अनुसार यी चारै जना पूर्वमन्त्रीहरूसँग प्रतिस्पर्धा गर्न थप एक सय पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन्, जसले पर्साको चुनावी प्रतिस्पर्धालाई निकै रोचक र चुनौतीपूर्ण बनाउने देखिएको छ ।

पर्सा क्षेत्र नम्बर १ बाट पूर्वमन्त्री प्रदीप यादवले उम्मेदवारी दिएका छन्, जो यसअघि वन, स्वास्थ्य र खानेपानी मन्त्रीको जिम्मेवारी सम्हालिसकेका अनुभवी नेता हुन्। त्यस्तै, क्षेत्र नम्बर २ बाट यसअघिको सरकारमा कानुन मन्त्री रहेका अजयकुमार चौरसिया चुनावी मैदानमा छन् ।

क्षेत्र नम्बर ३ बाट पूर्व विज्ञान मन्त्री सुरेन्द्रप्रसाद चौधरी र क्षेत्र नम्बर ४ बाट २०७९ सालमा उद्योग मन्त्री बनिसकेका रमेश रिजालले पुनः उम्मेदवारी दिएका छन्। पुराना र अनुभवी यी नेताहरूलाई यसपटक नयाँ शक्ति र युवा उम्मेदवारहरूको कडा टक्कर हुने अनुमान गरिएको छ।

लामो समयदेखि पर्साको राजनीतिमा दबदबा कायम राख्दै आएका यी पूर्वमन्त्रीहरूले आ-आफ्नो क्षेत्रमा विकासका एजेन्डाहरू अघि सारे पनि युवा मतदाताहरूको नयाँ चाहना र बदलिँदो राजनीतिक लहर उनीहरूका लागि मुख्य चुनौती बन्न सक्छ।

मङ्गलबार उत्साहपूर्ण रूपमा मनोनयन दर्ता गराएका यी नेताहरूको पक्षमा चुनावी माहोल सिर्जना गर्न कार्यकर्ताहरू जिल्लाभर परिचालित भइसकेका छन् । १०९ जना कुल उम्मेदवारहरू मध्ये पूर्वमन्त्रीहरूको यो भारी उपस्थिति र उनीहरूका विरुद्ध परेका उम्मेदवारीले पर्साको चुनावी नतिजा यसपटक निकै अनपेक्षित हुनसक्ने राजनितिक विश्लेशकहरुको बुझाई छ ।


सम्बन्धित समाचार