१८ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीमा थुप्रिएको अत्यधिक तरलता व्यवस्थापनका लागि आइतबार ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ ।
केन्द्रीय बैंकले ५२ दिनको समयावधिका लागि यो रकम बजारबाट उठाउन लागेको हो, जसको साँवा तथा ब्याज भुक्तानी आगामी २०८२ चैत ११ गते गरिनेछ । बैंक तथा वित्तीय संस्थाहरूले यो निक्षेपमा लगानी गर्नका लागि न्यूनतम १० करोड र अधिकतम आह्वान गरिएको कुल रकमसम्मका लागि बोलकबोल पेश गर्न सक्नेछन् ।
निक्षेपको ब्याजदर बोलकबोलको माध्यमबाट तय गरिनेछ, जसमा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखिने राष्ट्र बैंकले जनाएको छ । बैंकहरूले एकल वा बहुब्याजदरमा बोलकबोल गर्न पाउने व्यवस्था गरिएको छ। स्वीकृत भएको रकम सम्बन्धित बैंकको राष्ट्र बैंकमा रहेको खाताबाट खर्च गरी अलग्गै खातामा जम्मा गरिनेछ । यदि बोलपत्र स्वीकृत भएपछि सम्बन्धित संस्थाको खातामा पर्याप्त मौज्दात नभएमा त्यस्ता संस्थालाई कालोसूचीमा राखी आगामी बोलकबोलमा सहभागी हुन रोक लगाइने चेतावनी समेत दिइएको छ ।
राष्ट्र बैंकले संकलन गरेको यो रकम बैंक तथा वित्तीय संस्थाहरूको लगानी पोर्टफोलियोका रूपमा रहनेछ, जसलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न पाइने छैन । बजारमा पैसाको उपलब्धता बढी भएर ब्याजदर धेरै तल झर्न सक्ने जोखिमलाई न्यूनिकरण गर्न केन्द्रीय बैंकले नियमित रूपमा यस्ता मौद्रिक उपकरणहरूको प्रयोग गर्दै आएको छ ।
















