प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१९ माघ, काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू सत्ताको भागबन्डामा रमाउने पुराना नेताहरूको भीडमा नरहेको दाबी गर्दै नयाँ पुस्ता (जेनजी) र राष्ट्रका नाममा विशेष सम्बोधन गरेका छन् । उनले आफूलाई केवल एक राजनीतिक नेता होइन, संघर्षबाट आएको योद्धा र साधारण नागरिकका रूपमा प्रस्तुत गर्दै देशको भविष्यका लागि अझै लडिरहने प्रतिबद्धता व्यक्त गरे ।

इतिहासका निर्णायक मोडहरूमा जनतासँगै हिँडेको स्मरण गर्दै प्रचण्डले अहिलेको लडाइँ सत्ता प्राप्तिका लागि नभई देशको भविष्य र नयाँ पुस्ताको सपनाका लागि भएको बताए । उनले आफ्नो जीवनलाई ‘खुला किताब’ को संज्ञा दिँदै आफ्नै आँखाअगाडि जेठी छोरी ज्ञानु र जवान छोरा प्रकाश गुमाउनुपरेको पीडा सार्वजनिक रूपमा व्यक्त गरे । जीवनको अन्तिम घडीमा साथ छाडेर गएकी जीवनसंगिनी र हजारौँ सहयोद्धाको बलिदान सम्झँदै उनले एक व्यक्तिले जीवनमा गुमाउन सक्ने सबै कुरा आफूले गुमाइसकेको बताएका छन् ।

यति ठूलो व्यक्तिगत पीडाका बाबजुद पनि सहिदहरूको सपना र समृद्ध नेपालको यात्राले आफूलाई अघि बढ्न प्रेरित गरिरहेको प्रचण्डको भनाइ थियो । “यो संघर्ष व्यक्तिगत होइन, यो त ती हजारौँ सहिदहरूको सपना पूरा गर्ने यात्रा हो,” उनले भने ।

नयाँ पुस्ताले उठाइरहेको भ्रष्टाचार अन्त्य, पारदर्शिता र बलियो सरकारको मागलाई उनले जनयुद्धकालीन एजेन्डासँग जोड्दै संसदीय खेल र कुर्सीको तानातानले देशलाई पछाडि धकेलेको निष्कर्ष सुनाए। राजनीतिक स्थिरता र विकासका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था अपरिहार्य रहेको दोहोर्याउँदै उनले आफू नयाँ पुस्ताकै सोच बोकेर हिँडेको यात्री भएको दाबी गरे ।

हलिउडको चर्चित संवाद,“या त तिमी नायकको रूपमा मर, या त आफूलाई खलनायक बनेको हेर्न जीवित रह” उद्धृत गर्दै प्रचण्डले आफू खलनायक बनेर इतिहासको पानामा हराउन नचाहेको बताए । “यदि धेरै अघि बिदा भएको भए सायद नायकका रूपमा सम्झिइन्थ्यो होला, तर देशलाई सही दिशामा नपुर्याएसम्म म विश्राम लिँदिनँ,” उनको भनाइ थियो ।

सामाजिक सञ्जालका भ्रमबाट नबहकिन र स्वतन्त्र चिन्तन गर्न युवाहरूलाई आग्रह गर्दै उनले अब अर्को २० वर्ष ‘ट्रायल एन्ड एरर’ गरेर नयाँ नेता परीक्षण गर्ने समय नरहेको बताए । नयाँ पुस्तालाई प्रश्न सोध्न, दबाब दिन र निरन्तर खबरदारी गर्न आह्वान गर्दै उनले आफ्नो शक्ति स्रोत नै जनता भएको उल्लेख गरे ।

युवाहरूले भविष्य खोज्न विदेशिनु नपर्ने नेपाल बनाउने संकल्पसहित प्रचण्डले सम्बोधन अन्त्य गरे । भावनात्मक, वैचारिक र राजनीतिक सन्देश मिसिएको यस सम्बोधनलाई धेरैले पुरानो नेतृत्व र नयाँ पुस्ताबीच संवादको प्रयासका रूपमा हेरेका छन् ।


सम्बन्धित समाचार