१९ माघ, काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेनिकट युवा संघ नेपालले देशभर व्यापक रूपमा सङ्गठन परिचालन गर्ने घोषणा गरेको छ ।
संघका अध्यक्ष महाराज गुरुङले एक विज्ञप्ति जारी गर्दै निर्वाचनका क्रममा पार्टीका उम्मेदवारहरूको सुरक्षा र प्रचारप्रसारलाई व्यवस्थित बनाउन १६५ वटै निर्वाचन क्षेत्रमा विशेष निर्वाचन परिचालन कमान्ग ठन गरिएको जानकारी दिनुभएको छ ।
केन्द्रमा अध्यक्ष गुरुङकै नेतृत्वमा ५०१ सदस्यीय केन्द्रीय कमान्ड रहने गरी पिरामिड शैलीको सांगठनिक संरचना तयार गरिएको छ, जसले वडादेखि बुथ तहसम्मै युवाहरूको सक्रिय उपस्थिति सुनिश्चित गर्ने लक्ष्य राखेको छ ।
निर्वाचनमा धाँधली रोक्न र भयरहित वातावरण सिर्जना गर्न युवा संघले देशका ६ हजार ७ सय ४३ वटै वडामा वडा कमान्डर र १० हजार ९ सय ६७ वटै मतदान केन्द्रमा बुथ कमान्डर नियुक्त गरेको छ । यी कमान्डरहरूको मुख्य जिम्मेवारी मतदातामा जागरण ल्याउने, पार्टीका चुनावी एजेन्डाहरू घर(दैलोसम्म पुर्याउने र मतदानका दिन बुथको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी कडा निगरानी राख्नु हुनेछ । सङ्गठनले आफ्ना सबै तहका कमिटीका पदाधिकारी तथा सदस्यहरूलाई यो विशेष कमान्डअन्तर्गत रहेर अनुशासित र आक्रामक रूपमा चुनावी अभियानमा होमिन निर्देशन दिएको छ ।
विशेष गरी उम्मेदवारहरूको व्यक्तिगत सुरक्षा र चुनावी कार्यक्रमहरूमा हुनसक्ने अवरोधलाई चिर्न युवा संघले आफूलाई सुरक्षा कवचको रूपमा प्रस्तुत गर्ने रणनीति बनाएको छ । प्रदेशगत रूपमा पदाधिकारीहरूलाई संयोजनको जिम्मेवारी दिइएको यस अभियानले निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न रणनीतिक भूमिका खेल्ने संघको दाबी छ ।
निर्वाचन आचारसंहिताको परिधिभित्र रहेर चुनावी प्रचार र मतदान केन्द्रको सुरक्षा प्रबन्धलाई कडा बनाउने युवा संघको यो सक्रियतालाई एमालेले आफ्नो चुनावी शक्ति प्रदर्शनको रूपमा समेत लिएको छ ।

















