Logo

Your paragraph text – 1

२१ माघ, वीरगञ्ज । पर्साका स्थापित लेखक तथा साहित्यकार दिनेश गुप्ताले भोजपुरी साहित्यमा नयाँ प्रतिभाहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले ‘दिनेश गुप्ता प्रतिभा पुरस्कार’ सुरु गर्ने घोषणा गरेका छन् । भोजपुरी, नेपाली र हिन्दी भाषामा करिब एक दर्जन पुस्तक प्रकाशित गरिसकेका गुप्ताले नयाँ लेखक र कविहरूलाई उचित मञ्च प्रदान गर्न यो पुरस्कार स्थापना गरेको बताए ।

साहित्यको ऋण तिर्ने प्रयास पुरस्कारको महत्वबारे प्रकाश पार्दै लेखक गुप्ताले भने, “साहित्यले मलाई समाजमा जुन पहिचान दिएको छ, त्यसको ऋण तिर्न यो मेरो एउटा सानो प्रयास हो। यो पुरस्कार मेरो तर्फबाट भोजपुरी साहित्यमा समर्पित लेखक तथा कविहरूका लागि एउटा प्रेमपूर्ण उपहार हो।” उनले भने, “समाजलाई नयाँ दृष्टिकोण दिने तर अझै ओझेलमा रहेका प्रतिभाहरूलाई प्रोत्साहित गर्नु यसको मुख्य लक्ष्य हो। यस पहलले नयाँ लेखकहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर दिनेछ र साहित्यिक संसारमा उनीहरूको आफ्नै पहिचान बन्नेछ।”

पारदर्शी चयन प्रक्रिया पुरस्कारका लागि उम्मेदवारहरूको छनोट प्रक्रियालाई पूर्ण रूपमा पारदर्शी र निष्पक्ष बनाइने गुप्ताले स्पष्ट पारे । यसका लागि तीन सदस्यीय साहित्यिक विद्वानहरूको टोली गठन गरिनेछ, जसमा स्वयम् गुप्ता पनि सहभागी हुनेछन् । विजेताहरूको छनोट केबल लेखनको गहिराइ, नवीनता, सामाजिक सन्देश र संवेदनशीलताका आधारमा गरिने उनको भनाइ छ।

फागुनभित्रै शुभारम्भ यो पुरस्कार घोषणासँगै स्थानीय साहित्यकार र पाठकहरूमा उत्साह देखिएको छ। पुरस्कारको औपचारिक शुभारम्भ आगामी फागुन महिनाभित्रै हुने जानकारी दिइएको छ। यस्तो प्रयासले भोजपुरी साहित्यको क्षेत्रमा नयाँ ऊर्जा र उत्साह थप्ने विश्वास लिइएको छ।


सम्बन्धित समाचार