२१ माघ, काठमाडौं । घरेलु मैदान पोखरा रंगशालामा जारी साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपबाट नेपाल बाहिरिएको छ ।
लिग चरणको निर्णायक खेलमा बंगलादेशसँग ४–० को भारी गोलअन्तरले पराजित भएपछि नेपालको फाइनल यात्रामा पूर्णविराम लागेको हो । बंगलादेशका लागि अल्पी अख्तरले सानदार ह्याट्रिक गरिन् भने प्रतिमा मुण्डले एक गोल थपिन् । यो जितसँगै बंगलादेश लिगका तीनवटै खेल जितेर अपराजित रहँदै फाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगिताभर भुटानलाई मात्र पराजित गर्न सकेको नेपालका लागि बंगलादेशको पर्खाल तोड्नु फलामको चिउरा चपाउनु सरह बन्यो । अर्कोतर्फ, भारतले भुटान र नेपाललाई पन्छाउँदै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ। भारत लिग चरणमा बंगलादेशसँग मात्र पराजित भएको थियो । जितविहीन बनेको भुटान र आयोजक नेपाल प्रतियोगिताबाट बिदा भएपछि अब आगामी शनिबार हुने फाइनल भिडन्तमा दक्षिण एसियाली फुटबलका दुई चिरपरिचित प्रतिद्वन्द्वी भारत र बंगलादेश उपाधिका लागि मैदान उत्रनेछन् ।
















