२२ माघ, काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा देखिएको उपभोग्य वस्तुको अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न उत्पादक, पैठारीकर्ता र वितरकहरूलाई कडा निर्देशन दिएको छ । विभागले बुधबार एक विज्ञप्ति जारी गर्दै बजारलाई प्रतिस्पर्धी र स्वच्छ राख्न तथा उपभोक्तालाई राहत दिन यस्तो निर्देशन दिएको हो ।
पछिल्लो समय खानेतेल, चामल, ग्यास लगायतका अत्यावश्यक दैनिक उपभोग्य वस्तुको मूल्यमा भारी वृद्धि भएको र बजारमा कृत्रिम अभाव सिर्जना गरी आपूर्तिमा कमी ल्याएको गुनासो बढेपछि विभागले सक्रियता देखाएको छ । विभागले प्रमुख उत्पादक तथा पैठारीकर्ताहरूलाई प्रत्यक्ष बोलाएर अनुचित नाफा नलिई वस्तु वा सेवा उपलब्ध गराउन सचेत गराएको छ ।
“खाद्यान्न तथा तेल उत्पादन गर्ने प्रमुख उद्योगी र वितरकहरूलाई बोलाएर अस्वाभाविक मूल्यवृद्धिलाई तत्काल समायोजन गर्न निर्देशन दिइएको छ,” विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “उपभोक्ताको ढाड सेकिने गरी लिइने अनुचित नाफा र बजारमा सिर्जना गरिएको कृत्रिम अभावप्रति विभाग गम्भीर छ ।”
उपभोक्ता संरक्षण ऐन, २०७५ र नियमावली, २०७६ अनुसार उपभोक्तालाई गुणस्तरीय वस्तु र सेवा प्राप्त गर्ने अधिकार सुनिश्चित गर्न विभाग प्रतिबद्ध रहेको जनाइएको छ । बजारमा हुने अनियमितता रोक्नका लागि विभागले अन्य नियमनकारी निकायहरूको सहयोगमा संयुक्त अनुगमन टोली परिचालन गरेको छ । उत्पादकदेखि खुद्रा बिक्रेतासम्मका फर्म तथा प्रतिष्ठानहरूमा आकस्मिक निरीक्षण गरी दोषी पाइएमा कानुन बमोजिम कडा कारबाही गरिने विभागले स्पष्ट पारेको छ ।
सार्वजनिक सञ्चारमाध्यम र उपभोक्ता तहबाट आएका गुनासाहरूलाई सम्बोधन गर्दै विभागले अबका दिनमा बजार अनुगमनलाई थप प्रभावकारी र नियमित बनाउने योजना समेत अघि सारेको छ ।
















