२२ माघ, वीरगञ्ज । चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम छ महिनामा वीरगञ्ज नाका हुँदै ठूलो परिमाणमा ‘अनएसेम्बल्ड’ मोटरसाइकल आयात भएको छ। वीरगञ्ज भन्सार कार्यालयका अनुसार सो अवधिमा रु चार अर्ब ५६ करोड बराबरका ३२ हजार ३३१ वटा अनएसेम्बल्ड मोटरसाइकल आयात भएका छन् ।
उक्त सवारीसाधन आयातबाट मात्रै रु चार अर्ब ४३ करोड राजस्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने रु तीन अर्ब ३८ करोड बराबरका २५ हजार ८५७ वटा अनएसेम्बल्ड मोटरसाइकल आयात भएका थिए । यस वर्ष आयात परिमाणसँगै राजस्व संकलनमा पनि उल्लेख्य वृद्धि देखिएको छ ।
त्यसैगरी, चालु आवको पहिलो छ महिनामा तयारी (एसेम्बल्ड) मोटरसाइकलतर्फ रु ४५ करोड ८१ लाख बराबरका चार हजार ५६७ वटा मोटरसाइकल आयात भएका छन् । गत आवको सोही अवधिमा रु २० करोड ७६ लाख बराबरका दुई हजार १९२ वटा मोटरसाइकल आयात भएका थिए। यस तथ्यांकले पेट्रोलियम मोटरसाइकल आयातमा समेत दोब्बरभन्दा बढी वृद्धि भएको देखाउँछ ।
विद्युतीय सवारीसाधनतर्फ पनि आयात बढ्दो क्रममा रहेको छ। भन्सारका अनुसार चालु आवको पहिलो छ महिनामा रु ५८ करोड १८ लाख बराबरका चार हजार ५९४ वटा विद्युतीय मोटरसाइकल आयात भएका छन् । गत आवको सोही अवधिमा रु ३० करोड ९६ लाख बराबरका दुई हजार २१८ वटा विद्युतीय मोटरसाइकल आयात भएका थिए ।
पछिल्ला वर्षहरूमा विद्युतीय सवारीसाधनप्रति उपभोक्ताको आकर्षण बढ्नु, इन्धन खर्चमा वृद्धि तथा वातावरणीय सचेतनाका कारण ई-मोटरसाइकल आयातमा तीव्र वृद्धि देखिएको भन्सार कार्यालयको विश्लेषण छ।
वीरगञ्ज नाका मुलुककै प्रमुख भन्सार बिन्दु भएकाले सवारीसाधन आयातको ठूलो हिस्सा यही नाकाबाट भित्रिने गरेको छ । चालु आर्थिक वर्षको मध्यावधिसम्मकै तथ्यांकले मोटरसाइकल आयात तथा राजस्व संकलन दुवै क्षेत्रमा सकारात्मक विस्तार भएको संकेत गरेको छ ।
















