Logo

२२ माघ, काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै गृह मन्त्रालयले देशभरका ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीहरूलाई निर्वाचन आचारसंहिताको प्रभावकारी अनुगमन गर्न विशेष निर्देशन दिएको छ ।

निर्वाचन आयोगले जिल्लास्तरमा आचारसंहिता अनुगमन अधिकृतको जिम्मेवारी तोकेसँगै मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारी गर्दै कुनै पनि दबाब वा प्रभावमा नपरी निर्भिक रूपमा काम गर्न सचेत गराएको हो । मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार निर्वाचनको समयमा हुन सक्ने आचारसंहिता उल्लंघनका घटनाहरूलाई कडाइका साथ रोक्न र जिल्लास्तरमा भएका गतिविधिहरूको नियमित प्रतिवेदन मन्त्रालयमा पठाउन अनिवार्य गरिएको छ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन गृह मन्त्रालयले गृह सचिवको संयोजकत्वमा ‘केन्द्रीय कमाण्ड पोस्ट’ समेत गठन गरी सुरक्षा र अनुगमनको संयन्त्रलाई थप सक्रिय बनाएको छ। निर्वाचन आचारसंहिता, २०८२ को पूर्ण कार्यान्वयन सुनिश्चित गर्न जिल्लास्तरको अनुगमनलाई नै मुख्य आधार मानिएकोले सहायक प्रमुख जिल्ला अधिकारीहरूको भूमिका यसपटक थप निर्णायक हुने देखिएको छ ।

मन्त्रालयले आचारसंहिता उल्लंघन गर्ने जोसुकैलाई पनि तत्काल कानुनी दायरामा ल्याउन निर्देशन दिँदै निर्वाचनको गरिमा कायम राख्न सबै सरोकारवाला निकायहरूसँग समन्वय गर्न समेत आग्रह गरेको छ ।


सम्बन्धित समाचार
भर्खरै