२२ माघ,वीरगञ्ज । वीरगञ्जमा iCAUR V23 लाइफस्टाइल इलेक्ट्रिक SUV औपचारिक रूपमा सार्वजनिक गरिएको छ। वीरगञ्जका लागि iCAUR को आधिकारिक विक्रेता दर्शी अटोमोबाइल्सले बुधबार एक विशेष कार्यक्रम आयोजना गरी iCAUR V23 को अनावरण गरेको हो।
वीरगञ्जस्थित ओमोडा एण्ड जेको (Omoda & Jaecoo) शोरुममा सम्पन्न कार्यक्रममा मधेश प्रदेशमा प्रिमियम विद्युतीय सवारी साधनको विस्तारतर्फ यो एक महत्वपूर्ण कदमका रूपमा लिइएको छ।
कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। साथै दर्शी अटोमोबाइल्स प्रालिका निर्देशकहरू, व्यावसायिक साझेदारहरू, ग्राहकहरू तथा SPG अटोमोबाइल्स प्रालिका नेतृत्वदायी व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। अटोमोबाइल प्रेमी तथा वातावरणमैत्री प्रविधिमा रुचि राख्ने ग्राहकहरूको समेत उल्लेख्य सहभागिता देखिएको थियो।
“Born to Play” भन्ने विश्वव्यापी दर्शनअन्तर्गत डिजाइन गरिएको iCAUR V23 एक रेट्रो–प्रेरित, पूर्ण विद्युतीय अफ–रोड SUV हो। यसमा क्लासिक रग्ड लुक र आधुनिक प्रविधिको उत्कृष्ट संयोजन प्रस्तुत गरिएको छ। ४९.९९ लाख रुपैयाँ मूल्य तोकिएको यो SUV लाई परम्परागत पेट्रोल गाडीहरूको दिगो र स्टाइलिस विकल्पका रूपमा बजारमा उतारिएको हो।
iCAUR V23 मा ५१.८३ kWh क्षमताको LFP ब्याट्री र २०० किलोवाट क्षमताको शक्तिशाली मोटर जडान गरिएको छ। एकपटकको पूर्ण चार्जमा यसले ४०२ किलोमिटर (CLTC) सम्मको रेञ्ज दिने कम्पनीको दाबी छ। क्लासिक गोलो हेडलाइट, २२० एमएम ग्राउन्ड क्लियरेन्स र आकर्षक बक्सी डिजाइनले यसलाई शहर तथा अफ–रोड दुवै प्रयोजनका लागि उपयुक्त बनाएको छ।
सुरक्षाका हिसाबले यसमा १५.४ इन्चको प्रिमियम इन्फोटेनमेन्ट डिस्प्ले, लेभल–२ एडास (Level 2 ADAS) लगायतका आधुनिक सुरक्षा फिचरहरू समावेश गरिएको छ। साथै पछाडिको सिट फोल्ड गर्दा ४४५ लिटर क्षमताको विशाल बुट स्पेस उपलब्ध हुने कम्पनीले जनाएको छ।
प्रिमियम लाइफस्टाइल सेग्मेन्टमा प्रतिस्पर्धात्मक रूपमा प्रस्तुत गरिएको iCAUR V23 को बुकिङ तथा डेलिभरी प्रक्रिया SPG अटोमोबाइल्सको नेपालभर फैलिएको आधिकारिक डिलर नेटवर्कमार्फत तत्काल सुरु गरिने कम्पनीले जानकारी दिएको छ।
















