Logo

२३ माघ, काठमाडौं । वैदेशिक रोजगारीका नाममा आकर्षक तलबको लोभ देखाउँदै बेरोजगार युवायुवतीलाई ठगी गर्ने एक महिला प्रहरीको फन्दामा परेकी छन् । बेलायत पठाइदिने आश्वासन दिएर ७ लाख ९० हजार रुपैयाँ असुल गरेको आरोपमा नुवाकोटको तार्केश्वर गाउँपालिका-१ घर भई हाल काठमाडौं बस्दै आएकी ३६ वर्षीया कुमारी तामाङ पक्राउ परेकी हुन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार तामाङले दुई जना पीडितलाई बेलायत लैजाने भन्दै लामो समयसम्म आश्वासनमा राखेकी थिइन् । कागजी प्रक्रिया अगाडि बढिरहेको भन्दै रकम असुल गरे पनि विदेश नपठाई अन्ततः सम्पर्कविहीन बनेपछि पीडितहरू प्रहरीको शरणमा पुगेका थिए ।

पीडितको जाहेरीका आधारमा अनुसन्धान थालेको अपराध अनुसन्धान कार्यालयको टोलीले तामाङलाई माघ २१ गते काठमाडौं महानगरपालिका वडा नं. १२ क्षेत्रबाट नियन्त्रणमा लिएको हो । प्रारम्भिक अनुसन्धानमा उनले वैदेशिक रोजगारीको झुटो आश्वासन दिई रकम उठाएको पुष्टि भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकी तामाङलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ । प्रहरीले पछिल्लो समय वैदेशिक रोजगारीको नाममा हुने ठगी बढ्दो क्रममा रहेकाले यस्ता प्रलोभनमा नपर्न र कुनै पनि प्रक्रिया अघि बढाउँदा सम्बन्धित निकायबाट जानकारी लिन सर्वसाधारणलाई आग्रह गरेको छ ।


सम्बन्धित समाचार