२३ माघ, काठमाडौं । नेपालको अर्थतन्त्र र महिला सशक्तीकरणको क्षेत्रमा विशिष्ट पहिचान बनाउनुभएकी वरिष्ठ अर्थशास्त्री डा.मीना आचार्यको बिहीबार साँझ निधन भएको छ ।
लामो समयदेखि मुलुकको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान दिँदै आउनुभएकी आचार्यको निधनले बौद्धिक र प्राज्ञिक क्षेत्रमा ठूलो रिक्तता छाडेको छ । स्टाटस अफ वुमन इन नेपाल जस्तो ऐतिहासिक अनुसन्धानमूलक कृतिका लागि प्रख्यात उहाँले नेपाली महिलाहरूको आर्थिक र सामाजिक स्थितिलाई विश्वस्तरमा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । उहाँको बौद्धिक प्रखरता र अनुभवलाई कदर गर्दै पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँलाई आफ्नो सल्लाहकारका रूपमा समेत नियुक्त गर्नुभएको थियो ।
डा. आचार्य केवल एक अर्थशास्त्री मात्र नभई नेपाली महिला आन्दोलनकी एक प्रखर पैरवीकर्ता र मार्गदर्शक समेत हुनुहुन्थ्यो । उहाँले नीति निर्माणका तहमा महिलाहरूको पहुँच पुर्याउन र आर्थिक नीतिहरूलाई समावेशी बनाउन जीवनभर वकालत गरिरहनुभयो। पारिवारिक स्रोतका अनुसार स्वर्गीय आचार्यको पार्थिव शरीरलाई आज शुक्रबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ ।
उहाँको निधनमा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले दुःख व्यक्त गर्दै नेपालको आर्थिक र लैंगिक समानताको आन्दोलनमा उहाँले पुर्याउनुभएको योगदानलाई सदैव स्मरण गरिने बताएका छन् ।
















