२३ माघ, काठमाडौं । सरकारले लामो समयदेखि छलफलमा रहेको र चौतर्फी चासोको विषय बनेको ‘सामाजिक सञ्जाल विधेयक, २०८१’ सङ्घीय संसद्बाट फिर्ता लिने प्रक्रिया अगाडि बढाएको छ ।
आज दिउँसो १ः१५ बजे बस्ने राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सुशीला कार्कीले उक्त विधेयक फिर्ता गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । गत मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा विचाराधीन अवस्थामा रहेको यो विधेयकलाई फिर्ता लिने निर्णय गरेसँगै आज औपचारिक रूपमा सभामा प्रस्ताव पेश हुन लागेको हो ।
नागरिक अधिकार र अभिव्यक्ति स्वतन्त्रताका कतिपय प्रावधानलाई लिएर बहस भइरहेका बेला सरकारले यसलाई फिर्ता लिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । आजको बैठकमा सामाजिक सञ्जाल विधेयक फिर्तासँगै अन्य महत्वपूर्ण संसदीय कार्यसूचीहरू समेत रहेका छन्। प्रधानमन्त्री कार्कीले नै ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि छलफल र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने तयारी रहेको संसद् सचिवालयले जनाएको छ ।
त्यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी अध्ययन प्रतिवेदनमाथि छलफलको प्रस्ताव राख्नुहुनेछ । संसद्को बैठकअघि विधायन व्यवस्थापन समितिको बैठक बसेर अभौतिक सांस्कृतिक सम्पदा ९संरक्षण० विधेयकमाथि दफावार छलफल गर्ने तयारी समेत गरिएको छ ।
















