२३ माघ, वीरगञ्ज । पर्साको श्रीपूर वडा प्रहरी कार्यालयबाट करिब १०० मिटर दक्षिणतर्फ आपसी झगडाका क्रममा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा पर्सा जिल्लाको कालिकामाई गाउँपालिका वडा नम्बर–२ का स्थायी बासिन्दा तथा हाल वीरगञ्ज महानगरपालिका वडा नम्बर–१३ मा बसोबास गर्दै आएका केपीचन्द राउत रहेको प्रहरी स्रोतले जनाएको छ।
प्रहरीका अनुसार झगडाका क्रममा राउत घटनास्थलमै गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।
घटनाको कारण र झगडामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए। उनका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान खुल्न बाँकी रहेको छ।
घटनापछि प्रहरीले आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउँदै थप अनुसन्धान जारी राखेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
















