२३ माघ, काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि खास–खास क्षेत्रमा चुनावी तालमेल गर्ने नेकपा एमालेको रणनीतिमा गम्भीर धक्का लागेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सँग निश्चित क्षेत्रहरूमा सहकार्यको प्रस्ताव अघि सारे पनि दुवै दलले त्यसलाई ठाडै अस्वीकार गरिदिएका छन् । कांग्रेस प्रवक्ता देवराज चालिसेले १६५ वटै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार रहेको भन्दै कसैसँग तालमेल नगर्ने स्पष्ट पारिसक्नुभएको छ भने नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले पनि एमालेको प्रस्तावमा नलाग्न पार्टी पङ्क्तिलाई ब्रिफिङ गर्नुभएको छ। मुख्य प्रतिस्पर्धी दलहरूले एक्लै लड्ने अडान लिएपछि चुनावी सुरक्षित अवतरण खोजिरहेको एमाले अहिले रक्षात्मक अवस्थामा पुगेको छ ।
विशेष गरी अध्यक्ष ओलीको निर्वाचन क्षेत्र झापा–५ र महासचिव शङ्कर पोखरेलको क्षेत्र दाङ–२ लाई सुरक्षित गर्न एमालेले तालमेलको कसरत तीब्र पारेको थियो । झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को बढ्दो लोकप्रियता र क्रेजका कारण एमाले नेतृत्व सशंकित देखिएको छ । अघिल्लो निर्वाचनमा राप्रपासँग मिलेर चुनाव जितेका ओलीलाई यसपटक राप्रपाले पनि साथ नदिने भएपछि झापाको बिरासत जोगाउन कठिन हुने देखिएको छ ।
त्यस्तै, दाङ–२ मा पनि महासचिव पोखरेलका लागि चुनौती थपिएको छ । एमाले उपाध्यक्ष रामबहादुर थापा बादलले देश जलाउनेका विरुद्ध सहकार्यको नीति रहेको बताए पनि जनार्दन शर्मा र बाबुराम भट्टराई नेतृत्वको प्रलोपा बाहेक अन्य ठूला दल एमालेसँग हात मिलाउन तयार नभएपछि एमालेको विन–विन रणनीति संकटमा परेको हो ।
















