२५ माघ, वीरगञ्ज । सप्तरीको रुपनी गाउँपालिका-६ स्थित दुधौली खोला क्षेत्रमा शनिबार भएको विस्फोट नेपाली सेनाको अभ्यासका क्रममा हराएको बम पड्किँदा भएको प्रारम्भिक पुष्टि भएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धान र उच्च सुरक्षा स्रोतको जानकारीका आधारमा सो निष्कर्ष निकालिएको हो ।
प्रहरी निरीक्षक प्रमोद साहको कमाण्डमा खटिएको अनुसन्धान टोलीले घटनास्थलको अध्ययन, अवशेष संकलन र स्थानीय सूचनाका आधारमा उक्त बम सैन्य फायरिङ अभ्यासकै क्रममा हराएको हुनसक्ने निष्कर्ष निकालेको जनाएको छ । उच्च स्रोतका अनुसार करिब एक महिना अघि सो क्षेत्रमा नेपाली सेनाले फायरिङ अभ्यास सम्पन्न गरेको थियो। अभ्यासपछाडि एक बम हराएको आशंकामा सेनाको करिब १५ सदस्यीय टोली लामो समयसम्म घटनास्थल आसपास खोजतलासमा खटिएको थियो। तर बम फेला नपरेकै अवस्थामा शनिबार विस्फोट भएको हो ।
घटनापछि सुरक्षा सतर्कता बढाउँदै नेपाली सेना श्री बरख गणबाट सहायक सेनानीको कमाण्डमा बम स्क्वाड टोली खटाइएको छ । टोलीले विस्फोटको प्रकृति, प्रयोग भएको सामग्री, अवशेषको परीक्षण तथा स्रोत पहिचानका लागि प्राविधिक अनुसन्धान अघि बढाएको छ। सुरक्षाका सबै मापदण्ड अपनाएर क्षेत्रलाई नियन्त्रणमा लिइएको सुरक्षा अधिकारीहरूले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले घटनालाई अत्यन्त संवेदनशील मानेर बहुआयामिक अनुसन्धान भइरहेको जनाएको छ । विस्फोटक वस्तुको आधिकारिक पुष्टि, जिम्मेवारी निर्धारण तथा सम्भावित लापरबाहीबारे समेत छानबिन केन्द्रित गरिएको प्रहरीको भनाइ छ ।
शनिबार भएको विस्फोटमा चार जना बालक घाइते भएका थिए । उनीहरूको उपचार भइरहेको र सबै खतरामुक्त रहेको प्रहरीले जनाएको छ । यद्यपि, घटनाले सैन्य अभ्यास हुने क्षेत्रको सुरक्षा व्यवस्थापन, विस्फोटक सामग्रीको नियन्त्रण तथा अभ्यासपछिको जोखिम व्यवस्थापनबारे गम्भीर प्रश्न उठाएको छ। स्थानीयवासी र सरोकारवाला निकायहरूले यसबारे उच्च सतर्कता र स्पष्ट जवाफदेहिताको माग गरेका छन् ।
















