२५ माघ,सेढवा ।आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पर्सा निर्वाचन क्षेत्र नम्बर ४ मा चुनावी सरगर्मी बढ्दै गएको छ। यसैक्रममा नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजालले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत जिराभवानी गाउँपालिका–१ मा घरदैलो अभियानलाई तीव्रता दिएका छन्।
घरदैलो अभियानका क्रममा उम्मेदवार रिजालले महादेव पट्टी शान्तिनगर पिपरा, भवानीपुर पकडी टोल, जगतिया र बलुवाका मतदातासँग भेटघाट गर्दै उनीहरूका समस्या र गुनासाहरू सुनेका छन्। भेटका क्रममा स्थानीयवासीहरूले ठाउँ–ठाउँमा टीका, माला र खादा लगाएर रिजालको उत्साहजनक स्वागत गरेका थिए।
सो अवसरमा स्थानीय मतदाताहरूले मुलुकको वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै अबको आशाको केन्द्र नेपाली कांग्रेस भएको बताएका छन्। उनीहरूले यसपटकको निर्वाचनमा पर्सा–४ बाट नेपाली कांग्रेसका उम्मेदवारलाई रुख चिह्नमा मतदान गरी परिवर्तनको बिगुल फुक्ने प्रतिबद्धता समेत जनाएका छन्।
घरदैलोका क्रममा स्थानीयले विकास निर्माण, शिक्षा, स्वास्थ्य सेवा र रोजगारीका क्षेत्रमा देखिएका समस्याहरू उम्मेदवार रिजालसमक्ष राखेका थिए। रिजालले नागरिकका गुनासाहरू ध्यानपूर्वक सुन्दै आफू र आफ्नो पार्टी जनभावनाअनुसार काम गर्न प्रतिबद्ध रहेको विश्वास दिलाए। उनले अन्य दलहरूको विकल्पमा नेपाली कांग्रेस नयाँ एजेन्डा र स्पष्ट भिजनसहित अघि बढ्ने दाबी समेत गरे।
कार्यक्रममा प्रदेशसभा सदस्य तथा वन तथा वातावरण मन्त्री शंकर प्रसाद चौधरी, बृहस्पति कृष्ण लाल श्रेष्ठ, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादव, नवीन सिंह, नेपाली कांग्रेसका वडा सभापति शेख ग्यासुदिन, पूर्व वडा अध्यक्ष शेख नुमान आजम, युवा नेता सन्तोष चौरसिया लगायत पार्टीका नेता–कार्यकर्ता, स्थानीय युवा, महिला तथा सर्वसाधारणको उल्लेख्य र स्वतःस्फूर्त सहभागिता रहेको थियो।
पर्सा–४ मा नेपाली कांग्रेसप्रति बढ्दो जनसक्रियताले यस क्षेत्रको चुनावी प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ।
















