Logo

२६ माघ, काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक, सिँचाइ र पूर्वाधारका आयोजनाहरू समयमै, गुणस्तरीय र पारदर्शी रूपमा सम्पन्न गर्नु आफ्नो पार्टीको मुख्य प्रतिबद्धता भएको बताएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश जारी गर्दै सभापति थापाले नेपालमा पूर्वाधार निर्माणमा हुने ढिलासुस्तीले अर्थतन्त्रको उत्पादकत्वमा गम्भीर असर पारेको उल्लेख गरे ।

“हाम्रोमा पूर्वाधार समयमै नबन्ने ठूलो समस्या छ, जसले विकासको लागत त बढाएको छ नै, अर्थतन्त्रको ‘इकोनोमिक प्रोडक्टिभिटी’ मा पनि ठूलो क्षति पुऱ्याएको छ,” थापाले भनेका छन्, “यसको ‘अपरचुनिटी कस्ट’ (अवसर लागत) अत्यन्तै उच्च छ । त्यसैले जनजीवनसँग प्रत्यक्ष जोडिएका आयोजनाहरूलाई ढिलासुस्ती मुक्त बनाउनु हाम्रो प्राथमिकता हो।”

सभापति थापाले जादु वा चमत्कार गरेर समस्याको समाधान निस्कन्छ भनेर सोच्नु गलत हुने भन्दै आगामी पाँच वर्ष खेर नजाने गरी काम गर्नुपर्नेमा जोड दिए । उनले पुराना कार्यशैली र कानुनमा आमूल सुधारको आवश्यकता औँल्याउँदै भने, “यसका लागि कानुनमा सुधार, संस्थागत क्षमता अभिवृद्धि र सार्वजनिक संस्थाहरूको काम गर्ने तरिका फेर्नु अनिवार्य छ। हामीले फाइनान्सका नयाँ मोडेलहरू अभ्यास गर्दै निजी क्षेत्रलाई पनि विश्वासमा लिएर अघि बढ्नुपर्छ।”

पूर्वाधार क्षेत्रमा पाँच वर्षभित्रै देखिने गरी परिवर्तन ल्याउन सकिनेमा आफू विश्वस्त रहेको भन्दै उनले अनुगमन गर्ने पद्धतिमा समेत परिवर्तन ल्याउनुपर्ने बताए । केही नयाँ जोखिमहरू मोलेरै भए पनि देशलाई पूर्वाधारको क्षेत्रमा रुपान्तरणकारी बाटोमा लैजान कांग्रेस प्रतिबद्ध रहेको उनको दाबी छ ।


सम्बन्धित समाचार