Logo

२७ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं भावी प्रधानमन्त्रीका दाबेदार बालेन साह यतिबेला चुनावी राप र तापसहित मधेशको राजनीतिक मैदानमा उत्रिएका छन् ।

केही दिन आफ्नो निर्वाचन क्षेत्र झापा ५ मा बिताएपछि उनी आजदेखि मधेशका जिल्लाहरूको दौडाहामा निस्किएका हुन् । सप्तरीबाट सुरु भएको उनको यो यात्रामा पार्टीका उम्मेदवारदेखि आम मतदातासम्मको उत्साहजनक उपस्थिति देखिएको छ । बालेनले आफ्नो सम्बोधनको सुरुआत जनकपुरबाट गरेका छन्, जहाँ उनलाई हेर्न र सुन्न समर्थकहरूको ठूलो भिड लागेको थियो ।

पार्टीले उनलाई आगामी सरकारको नेतृत्वकर्ताका रूपमा अघि सारेपछि बालेनको यो देश दौडाहा झनै अर्थपूर्ण बनेको छ । अहिले उनी सप्तरीका विभिन्न स्थानमा मतदातासँग साक्षात्कार गर्दै आजै साँझ महोत्तरीको बर्दिबास पुग्ने तालिका रहेको छ । मधेशका जिल्लाहरूमा उनले पाएको जनसमर्थनले रास्वपाको चुनावी अभियानमा नयाँ उर्जा थपेको देखिन्छ । बालेन पुगेका हरेक ठाउँमा युवा र सर्वसाधारणको स्वःस्फूर्त सहभागिताले परम्परागत राजनीतिक शक्तिहरूलाई समेत दबाब महसुस गराएको छ ।

रास्वपाले अबको केही दिनमै अर्थात् फागुनको पहिलो साता आफ्नो औपचारिक चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ । घोषणापत्र सार्वजनिक भएलगत्तै पार्टी सभापति रवि लामिछाने र नेता बालेन साह संयुक्त रूपमा देशव्यापी चुनावी अभियानमा होमिने रणनीति तय गरिएको छ । अहिलेको मधेश दौडाहालाई त्यसैको पूर्वसन्ध्यामा गरिएको शक्तिको आकलन र जनमत सङ्ग्रहका रूपमा हेरिएको छ ।


सम्बन्धित समाचार