Logo

२८ माघ, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह (बालेन) आज बुधबार मधेश प्रदेशको साङ्गठनिक भ्रमणका क्रममा वीरगञ्ज आइपुग्दैछन् । आगामी निर्वाचनको प्रचारप्रसारलाई तीव्रता दिने उद्देश्यका साथ सञ्चालित ‘जनसम्पर्क तथा घण्टी अभिवादन’ कार्यक्रमका लागि नेता शाह मंगलबारदेखि नै मधेशको दौडाहामा छन् ।

पार्टीको मधेश प्रदेश अभियान तथा प्रचारप्रसार विभागका अनुसार नेता शाहले आज एकै दिन सर्लाही, रौतहट, बारा र पर्साका विभिन्न ९ महत्वपूर्ण स्थानमा स्थानीय मतदाताहरूसँग प्रत्यक्ष संवाद गर्ने कार्यतालिका रहेको छ ।

नेता शाहको आजको चुनावी यात्रा बिहान ८:०० बजे सर्लाहीको लालबन्दीबाट सुरु भएको छ । त्यसलगत्तै उनी बिहान ८:३० मा हरिवन, ९:०० बजे बरथवा, ९:५० मा रौतहटको गरुडा र १०:३० मा चपुरका स्थानीयसँग भेटघाटमा व्यस्त रहनेछन् । बिहानको अन्तिम कार्यक्रम ११:१० मा बाराको निजगढमा तय गरिएको छ ।

दिउँसोको सत्रमा उनी १:०० बजे कलैया पुग्नेछन् भने दिउँसो १:३० बजे पर्साको वीरगञ्जस्थित घण्टाघरमा पुग्ने कार्यक्रम रहेको छ । वीरगञ्जमा उनले आम मतदातासँग साक्षात्कार गर्दै पार्टीको भावी योजना, क्षेत्रीय विकासका मुद्दा र सुशासनका विषयमा विशेष छलफल गर्नेछन् । आजको भ्रमणको समापन दिउँसो २:०० बजे जितपुरमा पुगेर हुने नेता शाहको सचिवालयले जनाएको छ ।

काठमाडौँ महानगरपालिकाको पूर्व मेयरसमेत रहेका शाहले यस भ्रमणका क्रममा स्थानीय समस्याहरूको दिगो समाधान र मुलुकको समृद्धिका लागि रास्वपाको प्रतिबद्धता व्यक्त गर्ने बताइएको छ । मधेश प्रदेशका विभाग प्रमुख राम सर्राफका अनुसार यो भ्रमणले मधेशमा रास्वपाको साङ्गठनिक उपस्थितिलाई थप मजबुत बनाउन र चुनावी अभियानलाई सशक्त पार्न महत्वपूर्ण भूमिका खेल्नेछ ।

हालैका दिनहरूमा मधेश प्रदेशमा रास्वपाको बढ्दो प्रभाव र बालेन शाहको उपस्थितिले स्थानीय राजनीतिमा नयाँ तरङ्ग पैदा गरेको छ । शाहले विशेष गरी युवा पुस्ता र विकास प्रेमी मतदातालाई आकर्षित गर्ने रणनीति लिएको देखिन्छ ।


सम्बन्धित समाचार
भर्खरै