Logo

२८ माघ, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभारसमेत सम्हालिरहेकी प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रियसभाको बैठकमा ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गर्ने भएकी छन् ।

सङ्घीय संसद् सचिवालयका अनुसार अपराह्न १ः१५ बजेका लागि निर्धारण गरिएको बैठकको सम्भावित कार्यसूचीअनुसार प्रधानमन्त्री कार्कीले उक्त विधेयक छलफलका लागि प्रस्ताव गर्दै पारितसमेत गर्न सभासमक्ष पेश गर्ने कार्यक्रम रहेको छ ।

आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा अर्थ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीहरूले दिने कार्यसूचीसमेत रहेको छ। सांसदहरूले उठाएका जिज्ञासामाथि मन्त्रीहरूले प्रत्यक्ष जवाफ दिने व्यवस्था गरिएको संसद् सचिवालयले जनाएको छ ।

यसैगरी बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालले आर्थिक वर्ष २०८१/८२ को ‘विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन’ पेश गर्ने कार्यक्रम तय गरिएको छ । प्रतिवेदनमार्फत समितिले वर्षभरि गरेका कामकारबाही, अध्ययन तथा विधेयकमाथिका गतिविधिबारे जानकारी गराइनेछ ।

त्यसैगरी सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘अध्यागमन ऐन, २०४९’ र सो ऐनअन्तर्गत बनेका प्रत्यायोजित विधायनहरूसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२ माथि छलफल गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

आजको राष्ट्रियसभा बैठकमा चलचित्र क्षेत्रसँग सम्बन्धित नयाँ कानुनी व्यवस्थादेखि लिएर सार्वजनिक नीति र अध्यागमन कानुनसम्बन्धी अध्ययन प्रतिवेदनसम्मका विषयमा छलफल हुने भएकाले बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।


सम्बन्धित समाचार