Logo

३ फागुन,काठमाडौं ।भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ले हिजो आसामको मोरान बाइपास सडकमा ऐतिहासिक अवतरण गर्नु भएको छ। भारतीय वायुसेनाको सी–१३०जे सुपर हरक्यूलिस विमान प्रयोग गर्दै मोदीले उच्च सुरक्षा व्यवस्थासहितको सडकमा अवतरण गर्नुभएको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार यसलाई ‘ऐतिहासिक क्षण’को रुपमा लिइएको छ। भारतले पछिल्लो वर्ष यस्ता सडक निर्माणमा जोड दिएको छ, जहाँ जहाज अवतरण र उडान गर्न सक्ने सुविधा समावेश गरिएको छ। पूर्वोत्तर भारतमा यस्ता आपतकालीन अवतरण योग्य सडक पहिले नै तयार भइसकेका छन्।

प्रधानमन्त्री मोदीले हिजो आफ्नो भ्रमणमा मोरान बाइपास सडकको अवलोकन गर्नुका साथै ब्रह्मपुत्र नदीमाथि कुमार भास्कर वर्मा पुल उद्घाटन गर्नुभएको थियो। मोदीले विमानबाट रनवेमा नभई सडकमा अवतरण गर्नु नयाँ इतिहास भएको उल्लेख गर्नुभएको छ।

आसामको मोरान बाइपासमा निर्माण गरिएको इमरजेन्सी ल्यान्डिङ फेसिलिटी (ईएलएफ) करिब ४.५ किलोमिटर लामो छ र यसको निर्माणमा झण्डै एक सय करोड रुपैयाँ खर्च भएको छ। ईएलएफ यस्तो विशेष खालको एयरस्ट्रिप हो, जहाँ राज्य वा राष्ट्रिय राजमार्गमा आपतकालीन अवस्थामा जहाज अवतरण/उडान गर्न सक्छ।

यस्ता सडकले न केवल आपतकालीन अवस्थामा प्रयोग हुने सुविधा दिन्छ, तर खाद्यान्न आपूर्ति र विपद्का बेला पनि महत्वपूर्ण भूमिका खेल्छ। आवश्यकता परे गाडी गुड्ने सडकलाई रनवेको रुपमा प्रयोग गर्न सकिन्छ। मोरान बाइपासको ईएलएफ चीनको सीमा नजिकै निर्माण भएकोले पूर्वोत्तर क्षेत्रको सुरक्षामा थप बल पुर्‍याउने अपेक्षा गरिएको छ।

भारतले राजस्थान, उत्तर प्रदेश, तमिलनाडु लगायतका राज्यमा पनि यस्ता विशेष खालका सडक निर्माण गरिसकेको छ।


सम्बन्धित समाचार