४ फागुन, काठमाडौँ । युक्रेनको ऊर्जा क्षेत्रमा भएको करिब १० करोड अमेरिकी डलर बराबरको भ्रष्टाचार काण्डमा मुछिएका पूर्व ऊर्जामन्त्री जर्मन गालुश्चेन्को पक्राउ परेका छन् । देश छोडेर भाग्न खोजिरहेको अवस्थामा युक्रेनी सुरक्षा अधिकारीहरूले उनलाई रेलमार्गबाट सीमा पार गर्न लाग्दा नियन्त्रणमा लिएका हुन् ।
युक्रेनको राष्ट्रिय भ्रष्टाचार विरोधी ब्युरो (नाबु) ले सञ्चालन गरेको ‘अपरेसन मिडास’ अन्तर्गत उनलाई हिरासतमा लिइएको हो। गत वर्ष भ्रष्टाचारमा नाम जोडिएपछि उनलाई मन्त्री पदबाट बर्खास्त गरिएको थियो।
अनुसन्धान अधिकारीहरूका अनुसार गालुश्चेन्कोले युक्रेनको राष्ट्रिय आणविक ऊर्जा कम्पनी ‘एनर्जोएटम’ का ठेकेदारहरूबाट १० देखि १५ प्रतिशतसम्म कमिसन असुल गर्ने गरेको आरोप छ। सो रकम अवैध रूपमा विदेश पठाउने गरिएको दाबी ‘नाबु’ ले गरेको छ। अनुसन्धानका क्रममा अधिकारीहरूले नगदले भरिएका झोलाहरूका तस्बिर सार्वजनिक गर्दै यो एक योजनाबद्ध र संस्थागत भ्रष्टाचार भएको बताएका छन् ।
रुसी आक्रमणका कारण युक्रेनको ऊर्जा पूर्वाधार संकटमा परेको समयमा मन्त्री नै ऊर्जा क्षेत्रको बजेट हिनामिनामा संलग्न भएको खबरले युक्रेनभित्र तीव्र जनआक्रोश पैदा गरेको छ । यस काण्डले राष्ट्रपति भोलोदमिर जेलेन्स्कीको प्रशासनलाई समेत रक्षात्मक बनाएको छ ।
यसअघि जेलेन्स्कीका निकट सल्लाहकार आन्द्रे यर्माकले आफ्नो घरमा छापा मारिएपछि नैतिकताका आधारमा राजीनामा दिइसकेका छन्, यद्यपि उनीमाथि हालसम्म कुनै औपचारिक अभियोग भने दर्ता भएको छैन।
गालुश्चेन्कोलाई थप सोधपुछका लागि राजधानी किभ लगिएको छ । यसै प्रकरणमा पूर्व उपप्रधानमन्त्री ओलेक्सी चर्निशोभ समेत पक्राउ परिसकेका छन् भने अन्य केही उच्च पदस्थ अधिकारीहरू देश छोडेर फरार रहेका छन् ।
युरोपेली संघ (ईयू) को पूर्ण सदस्य बन्नका लागि युक्रेनले भ्रष्टाचार विरुद्ध कडा कदम चाल्नुपर्ने सर्त रहेको छ । यस्तो अवस्थामा भएको यो उच्चस्तरीय गिरफ्तारीलाई अन्तर्राष्ट्रिय जगतले युक्रेनको भ्रष्टाचार विरोधी अभियानको अग्निपरीक्षाको रूपमा नियालिरहेको छ ।
















