Logo

१० फागुन, काठमाडौँ । इरानका प्रमुख विश्वविद्यालयहरूमा विद्यार्थीहरूले पुनः सरकार विरोधी प्रदर्शन सुरु गरेका छन् । राजधानी तेहरानसहितका प्रमुख सहरहरूमा हजारौँको संख्यामा सडकमा उत्रिएका विद्यार्थीहरूले इरानी सत्ताको जग हल्लाउँदै ‘तानाशाही अन्त्य गर’ भन्ने नारा घन्काएका छन् ।

नयाँ सेमेष्टरको सुरुवातसँगै सुरु भएको यो आन्दोलनले अघिल्लो महिनाको हिंसात्मक दमनको घाउलाई फेरि बल्झाएको छ । तेहरानस्थित प्रख्यात ‘शरिफ युनिभर्सिटी अफ टेक्नोलोजी’ र ‘अमिर कविर विश्वविद्यालय’ आन्दोलनको मुख्य केन्द्र बनेका छन् ।

मानवअधिकारवादी संस्थाहरूले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार इरानमा पछिल्लो समय भएका प्रदर्शनहरूमा सुरक्षा बलको दमनबाट ६ हजारभन्दा बढी प्रदर्शनकारीको मृत्यु भइसकेको छ । मारिएका तिनै प्रदर्शनकारीहरूको सम्मान र नागरिक अधिकारको माग गर्दै विद्यार्थीहरूले मशहद लगायतका सहरमा समेत आन्दोलन फैलाएका छन् । कतिपय स्थानमा प्रदर्शनकारी र सरकार समर्थकहरूबीच हिंसात्मक झडप समेत भएका खबरहरू प्राप्त भएका छन् ।

आन्तरिक विद्रोहले जलिरहेको इरानमाथि बाह्य दबाब पनि उत्कर्षमा पुगेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक महत्वाकांक्षालाई लिएर कडा सैन्य कारबाही गर्ने चेतावनी दिएका छन् । इरान र अमेरिकाबीचको सैन्य तनाव युद्धको संघारमा पुगेका बेला ट्रम्पले १० दिनको समयसीमा (अल्टिमेटम) तोकेका छन्।

“आगामी १० दिनभित्र इरानसँग आणविक सम्झौता हुनेछ वा अमेरिकाले सैन्य कारबाहीका लागि निर्णय लिनेछ,” ट्रम्पले स्पष्ट पारेका छन् । इरानले गोप्य रूपमा आणविक हतियार निर्माण गरिरहेको आशंकामा अमेरिका र युरोपेली राष्ट्रहरूले खाडी क्षेत्रमा आफ्नो सैन्य उपस्थिति बढाएपछि विश्व राजनीतिमा युद्धको बादल मडारिएको छ।

तनावका बीच स्विट्जरल्याण्डमा भएको दुई पक्षीय वार्तामा भने केही सकारात्मक संकेत देखिएका छन् । आणविक कार्यक्रम नियन्त्रण गर्ने विषयमा दुवै पक्षबीच केही बुँदामा प्रगति भएको बताइएको छ । यद्यपि, १० दिनभित्र हुने ठोस निर्णयले मात्र मध्यपूर्वको भविष्य र इरानको आन्तरिक विद्रोहको दिशा तय गर्ने देखिएको छ ।


सम्बन्धित समाचार
भर्खरै