११ फागुन, काठमाडौँ । मलेसियाको सबाह राज्य नजिक सुलु सागर क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार सोमबार स्थानीय समयअनुसार बिहान १२ः५७ बजे ७.१ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो ।
भूकम्प समुद्रमुनि करिब ६२० किलोमिटर गहिराइमा गएको जनाइएको छ। विशेषज्ञहरूका अनुसार यति गहिराइमा जाने भूकम्पले सतहमा कम असर पार्ने भएकाले ठूलो क्षति हुने सम्भावना कम हुन्छ ।
प्रशान्त महासागरीय सुनामी चेतावनी केन्द्रले सुनामीको खतरा नरहेको जनाएको छ। मलेसियाको मौसम विज्ञान विभागले पनि सर्वसाधारणलाई नआत्तिन आग्रह गरेको छ।
भूकम्पको हल्का कम्पन सबाह र सारावाकका केही क्षेत्रमा महसुस गरिएको थियो। छिमेकी देश फिलिपिन्स, ब्रुनाई र सिंगापुरका केही अग्ला भवनमा पनि हल्का धक्का अनुभव गरिएको सञ्चारमाध्यमहरूले जनाएका छन् ।
अहिलेसम्म कुनै भौतिक क्षति वा मानवीय हताहतीको विवरण आएको छैन। सम्बन्धित निकायले अवस्था निगरानीमा राखेको बताएका छन् ।

















