Logo

१३ फाल्गुण, काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले आफ्नो प्राविधिक र व्यवस्थापकीय तयारीलाई अन्तिम चरणमा पुर्‍याएको छ ।

निर्वाचनका लागि आवश्यक पर्ने मतपत्र र अन्य महत्वपूर्ण निर्वाचन सामग्रीहरू देशका ७५ जिल्लामा सफलतापूर्वक पुर्‍याइएको आयोगले जनाएको हो । आयोगले ‘पहिलो हुने निर्वाचित हुने’ (प्रत्यक्ष) र समानुपातिक दुवै निर्वाचन प्रणालीका लागि आवश्यक पर्ने मतपत्रहरू सम्बन्धित जिल्ला निर्वाचन कार्यालयहरूमा सुरक्षित रूपमा पुर्‍याइसकेको छ । भौगोलिक विकटता र ढुवानीका चुनौतीहरूलाई चिर्दै आयोगले तोकिएकै समयमा सामग्रीहरू पठाउन सफल भएको हो।

निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार, काठमाडौँ र भक्तपुर बाहेकका सबै जिल्लाहरूमा मतपत्रसहितका सामग्रीहरू पुगिसकेका छन् । यी दुई जिल्ला उपत्यकाभित्रै र आयोगको केन्द्रीय छापाखानाबाट नजिक रहेका कारण यहाँका निर्वाचन कार्यालयहरूमा भने बिहीबार मात्रै सामग्री पुर्‍याइने कार्यतालिका तय गरिएको छ ।

आयोगले मतपत्र ढुवानीका लागि सुरक्षा निकायहरूसँगको समन्वयमा उच्च सुरक्षा सतर्कता अपनाएको छ, जसले गर्दा मतदाताले निर्धक्क भएर मतदान गर्ने वातावरण सुनिश्चित हुने विश्वास गरिएको छ ।

७५ जिल्लामा मतपत्र पुगेसँगै अब स्थानीयस्तरमा मतदान केन्द्रहरूको व्यवस्थापन र कर्मचारी खटाउने कार्यलाई तीव्र पारिनेछ । फागुन २१ को मतदानका लागि आयोगले मतपत्रसँगै मसी, स्वस्तिक छाप, मतपेटिका लगायतका ६० भन्दा बढी प्रकारका सामग्रीहरू पठाएको हो । काठमाडौँ र भक्तपुरमा सामग्री पुगेपछि देशभरको ढुवानी प्रक्रिया पूर्ण हुनेछ, जसले निर्वाचनको प्रशासनिक तयारी पुरा भएको संकेत गर्नेछ ।


सम्बन्धित समाचार