१३ फाल्गुण, काठमाडौं । देशको एकमात्र गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभागले सूचना चुहावटको गम्भीर आरोपमा कारबाही भोगेका आफ्ना उच्च अधिकारीलाई झन् ‘अति संवेदनशील’ मानिने राष्ट्रिय सुरक्षा परिषद्मा सरुवा गरेपछि सुरक्षा वृत्तमा आश्चर्य व्यक्त गरिएको छ ।
विभागका उप-अनुसन्धान निर्देशक (प्रहरीको एसपी सरह) शेरजंगबहादुर चन्दलाई संवेदनशील गुप्तचरी सूचनाहरू अनाधिकृत रूपमा बाहिर ल्याएको र विभागको गोपनीयता भङ्ग गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनपछि कारबाही गरिएको थियो । विभागले उनलाई दण्ड स्वरूप एक ग्रेड रोक्का गरे तापनि कार्यक्षेत्र भने मुलुकको सुरक्षा नीति र योजना बन्ने रणनीतिक निकायमा तोकिदिएको छ, जसले विभागको निर्णयको उद्देश्यमाथि नै गम्भीर प्रश्न उठाएको छ ।
स्रोतका अनुसार, एसपी चन्दले विभागले संकलन गरेका अध्ययन र अनुसन्धानका प्रतिवेदनहरूलाई आफ्नो निजी प्रस्तुतिका रूपमा विभिन्न सञ्चारमाध्यममा सार्वजनिक गर्दै आएका थिए । यस्तो कार्यले अनुसन्धानको आधारभूत सिद्धान्त र गोपनीयताको मर्ममा प्रहार गरी राष्ट्रिय सुरक्षामा नै जोखिम निम्त्याएको भन्दै अख्तियारमा उजुरी परेपछि विभागले उनीमाथि प्रशासनिक कारबाहीको डन्डा चलाएको थियो ।
विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक ९एआईजी० ओम जोशीको नेतृत्वमा भएको सो निर्णयले उनलाई कारबाही त गर्यो, तर विडम्बनापूर्ण रूपमा उनको नयाँ जिम्मेवारी प्रधानमन्त्रीको अध्यक्षतामा रहने र सेनाले नेतृत्व गर्ने सुरक्षा परिषद्मै पुर्याइदिएको छ ।
यसअघि सिंहदरबारस्थित विभागको मुख्यालयको महत्त्वपूर्ण सूचना सङ्कलन शाखामा कार्यरत चन्दलाई फागुन ८ गते सुरक्षा परिषद् पठाउने गरी काज सरुवाको पत्र थपाइएको हो । गम्भीर प्रकृतिको सूचना चुहावट गर्ने व्यक्तिलाई देशका सुरक्षा रणनीति र गोप्य योजनाहरू कार्यान्वयन हुने थलोमा पुर्याउनुले कारबाहीको नाममा उल्टै ‘पुरस्कार’ दिएको भन्दै विभागभित्रै असन्तुष्टि चुलिएको छ ।
यस कदमले मुलुकको सुरक्षा सूचना व्यवस्थापनमा हुन सक्ने थप जोखिमलाई लिएर सुरक्षा विज्ञहरूले समेत चिन्ता व्यक्त गरेका छन् ।

















