१४ फाल्गुण, काठमाडौं । निर्वाचनलाई निष्पक्ष र सुरक्षित बनाउने उद्देश्यका साथ सरकारले आजदेखि मतदानको अन्तिम परिणाम नआएसम्मका लागि देशभर मादक पदार्थको बिक्री-वितरण र सेवनमा पूर्ण प्रतिबन्ध लगाएको छ ।
उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको हालै सम्पन्न बैठकले फागुन २१ गते हुने मतदानलाई ध्यानमा राख्दै यस्तो कडा कदम चाल्ने निर्णय गरेको हो। निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका २०७८ को प्रावधान अनुसार मतदानको सात दिन अगाडिदेखि नै मदिराजन्य पदार्थमा रोक लगाइएको छ, जसले सम्भावित झडप र सुरक्षा चुनौतीलाई न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ ।
यसैगरी, निर्वाचन आचारसंहिताको पालना गराउन र भयरहित वातावरण सुनिश्चित गर्न फागुन १८ गते राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसारमा समेत पूर्ण निषेध (मौन अवधि) लागू हुने भएको छ । गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई यस नियमको कडाइका साथ पालना गराउन र अटेर गर्नेलाई प्रचलित कानुन बमोजिम तत्काल कारबाही गर्न निर्देशन दिएको छ ।
निर्वाचन आयोगले जिल्ला आचारसंहिता अनुगमन समितिमार्फत अनुगमनलाई तीव्र पार्दै निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ का प्रावधानहरूलाई कडाइका साथ कार्यान्वयनमा ल्याएको छ ।
सवारी साधन सञ्चालनको हकमा भने मतदानको दिन अर्थात् फागुन २१ गतेका लागि विशेष व्यवस्था गरिएको छ । फागुन २० गते राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्मका लागि सार्वजनिक तथा निजी सवारी साधनको आवागमनमा रोक लगाइनेछ । यद्यपि, एम्बुलेन्स, दमकल, सुरक्षा निकायका सवारी साधन, र खानेपानी तथा विद्युत् जस्ता अत्यावश्यक सेवाका साधनहरू भने सुचारु रहनेछन् । कूटनीतिक नियोग र निर्वाचन प्रयोजनका लागि पास प्राप्त सवारी साधनलाई मात्र सडकमा गुड्ने अनुमति दिइने आयोगले स्पष्ट पारेको छ ।

















