प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१४ फाल्गुण, काठमाडौं । नेपालका वाणिज्य बैंकहरूमा खराब कर्जा असुली प्रभावित भएसँगै गैह्रबैंकिङ्ग सम्पत्ति थुप्रिने क्रमले तीब्रता पाएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा वाणिज्य बैंकहरूको यस्तो सम्पत्ति ४३ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा ३४ अर्ब ८६ करोड रहेको यो तथ्याङ्क एक वर्षको अन्तरालमा ८ अर्बभन्दा बढीले वृद्धि भएको देखिन्छ । विशेषगरी पछिल्लो एक महिनाको अवधिमा मात्रै ५२ करोड रुपैयाँ बराबरको थप सम्पत्ति बैंकहरूको स्वामित्वमा आएको छ, जसले बैंकिङ्ग क्षेत्रमा बढ्दो जोखिमलाई संकेत गरेको छ ।

बैंकहरूले प्रवाह गरेको कर्जा समयमै असुल हुन नसक्दा र ऋणीले धितो राखेका घर, जग्गा तथा सवारी साधन लिलामी प्रक्रियाबाट पनि बिक्री नभएपछि बैंक आफैँले ती सम्पत्ति सकार्नुपर्ने बाध्यता सिर्जना भएको हो । एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङका अनुसार कर्जा लगानी गर्दा पर्याप्त सावधानी अपनाउन नसक्नु र घरजग्गा बजारमा आएको मन्दीका कारण सकारेका सम्पत्ति पुनः बिक्री हुन नसक्नु नै यो समस्याको मुख्य कारण हो ।

तथ्याङ्क अनुसार हिमालयन बैंक र ग्लोबल आईएमई बैंकमा सबैभन्दा बढी करिब ६ अर्बको हाराहारीमा यस्तो सम्पत्ति थुप्रिएको छ भने स्ट्याण्डर्ड चार्टर्ड बैंकको गैह्रबैंकिङ्ग सम्पत्ति शून्य रहेको छ । मुलुकको बाह्य अर्थतन्त्रमा केही सुधार देखिए पनि आन्तरिक बजारमा व्याप्त आर्थिक शिथिलता र राजनीतिक अस्थिरताका कारण बैंकहरूको यो भार अझै बढ्ने अनुमान गरिएको छ ।

बैंकहरूले आफ्नो मुख्य व्यवसाय छाडेर सकारेका घरजग्गा व्यवस्थापनमा अलमलिँदा यसले वित्तीय प्रणालीको तरलता र मुनाफामा समेत नकारात्मक असर पुर्‍याइरहेको छ । खराब कर्जा बढ्दै जाँदा र धितो बजारमा ग्राहक नभेटिँदा बैंकहरूका लागि यो ‘निल्नु न ओकल्नु’ को विषय बनेको छ ।


सम्बन्धित समाचार