१४ फाल्गुण, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिको मैदानमा नयाँ शक्ति भन्दै फैलाइएको भ्रम र भुलभुलैयामा नपर्न आम मतदातालाई विशेष अपिल गर्नुभएको छ ।
बिहीबार सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थापाले केवल नयाँ हुनु मात्रै कुनै ठुलो उपलब्धि नभएको तर्क राख्नुभयो । यस सन्दर्भमा उहाँले विगतमा माओवादीले पनि नयाँ र परिवर्तनको ठुला नारा दिएर आए पनि देश र विशेषगरी कर्णालीको अवस्थामा कुनै ठोस चमत्कार गर्न नसकेको उदाहरण प्रस्तुत गर्नुभयो । हिजोका दिनमा नयाँ भनिएका शक्तिहरूले सत्ता सम्हाल्दा समेत जनताले आशातित नतिजा नदेखेकाले फेरि त्यस्तै कोलाहलको पछि लाग्नु घातक हुन सक्ने उहाँको संकेत थियो ।
वर्तमान नेपाली राजनीतिको विश्लेषण गर्दै सभापति थापाले अहिले देशमा दुईवटा नकारात्मक शक्ति सक्रिय रहेको दाबी गर्नुभयो । उहाँका अनुसार एकातिर यथास्थितिवादी शक्ति छ जसले मुलुकको प्रगतिलाई रोकिरहेको छ भने अर्कोतिर केवल उत्तेजना, घृणा र रिस मात्र बोकेको अर्को शक्ति छ । यस्ता शक्तिहरूसँग सोच्ने क्षमता र सुझबुझको अभाव रहेको टिप्पणी गर्दै उहाँले अबका दिनमा देशलाई उत्तेजनाभन्दा पनि गहिरो विवेक र सुझबुझको आवश्यकता रहेकोमा जोड दिनुभयो भ्रम र कोलाहलको राजनीतिले मुलुकलाई सही दिशा नदिने हुँदा जनता सचेत हुनुपर्ने उहाँको भनाइ थियो ।
कांग्रेसले अबका दिनमा विगतका कमजोरीहरूबाट पाठ सिक्दै आफूलाई परिमार्जन गरेर अगाडि बढाउने प्रतिबद्धता थापाले व्यक्त गर्नुभयो । सफा गर्नुपर्ने ठाउँमा सफा गर्दै र सच्चिनुपर्ने ठाउँमा सच्चिँदै पार्टीलाई दह्रो रूपमा उभ्याउने उहाँको संकल्प थियो । मुलुकलाई अर्को राजनीतिक दुर्घटनाबाट जोगाउन कांग्रेसले सुझबुझपूर्ण भूमिका निर्वाह गर्ने दाबी गर्दै थापाले भ्रमलाई चिरेर आगामी निर्वाचनमा कांग्रेसलाई मतदान गर्न सुर्खेतका जनतालाई आह्वान गर्नुभयो ।

















