प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१५ फाल्गुण, काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–५ स्थित सुनारटोलमा बिहीबार राति चितुवाको आक्रमणबाट एक जना वृद्ध गम्भीर घाइते भएका छन् ।

काम सकेर घर फर्किने क्रममा साढे ८ बजेतिर गोरेटो बाटोमा लुकेर बसेको चितुवाले ६१ वर्षीय रणबहादुर गर्तौलामाथि एक्कासि जाइलागेको थियो । सोलुखुम्बु स्थायी घर भई गोदावरीमा बस्दै आएका गर्तौलालाई चितुवाले आक्रमण गरेपछि गुहार मागेका थिए । उनलाई जोगाउन भेला भएका स्थानीयले सामूहिक प्रतिकार गर्दा चितुवाको मृत्यु भएको छ ।

घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी परिसर ललितपुर मातहतको प्रहरी चौकी लेलेबाट खटिएको टोलीले घाइतेको उद्धार गरेको थियो । घाइते गर्तौलालाई तत्कालै आफन्तको सहयोगमा लगनखेलस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको र अहिले उनको त्यहाँ उपचार भइरहेको प्रहरीले जनाएको छ । वन क्षेत्र नजिकै रहेको उक्त बस्तीमा रातिको समयमा चितुवा निस्किएपछि स्थानीयमा भने त्रास फैलिएको छ ।

प्रहरीले घटनाका सम्बन्धमा आवश्यक मुचुल्का तयार पार्नुका साथै मृत चितुवाको व्यवस्थापनका लागि जिल्ला वन कार्यालयसँग समन्वय गरिरहेको जानकारी दिएको छ । वन कार्यालयको टोलीले मृत चितुवालाई आफ्नो नियन्त्रणमा लिएर थप कानुनी प्रक्रिया अघि बढाउने तयारी गरेको छ । बस्तीमा चितुवा पसेर मान्छेमाथि नै आक्रमण गर्न थालेपछि सुरक्षाका दृष्टिकोणले विशेष सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।


सम्बन्धित समाचार