प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१५ फाल्गुण, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आसन्न निर्वाचन र सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै यस वर्षको होली पर्वमा सार्वजनिक सांगीतिक कार्यक्रम र मेला महोत्सव आयोजना गर्न पूर्ण रोक लगाएको छ ।

होली मनाउने बहानामा राजनीतिक दल वा उम्मेदवारहरूले निर्वाचन आचारसंहिता विपरीत चुनावी प्रचारप्रसार गर्न सक्ने जोखिमलाई ध्यानमा राखी प्रशासनले यस्तो कडा कदम चालेको हो । सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालद्वारा जारी सूचनाअनुसार खुला सडक वा सार्वजनिक स्थानमा भेला भई भिडभाड गर्ने, मञ्च बनाएर कन्सर्ट गर्ने र मादक पदार्थ बिक्री वितरण तथा सेवन गर्ने जस्ता कार्यहरूमा प्रतिबन्ध लगाइएको छ ।

प्रशासनले विशेषगरी निर्वाचन आचारसंहिताको पालनामा जोड दिँदै होलीका अवसरमा कुनै पनि राजनीतिक दलको चिह्न, झण्डा, लोगो वा उम्मेदवारको तस्बिर अंकित टिसर्ट, टोपी, मास्क वा लकेट प्रयोग गर्न निषेध गरेको छ । निर्वाचनलाई स्वच्छ र निष्पक्ष राख्नका लागि सांगीतिक कार्यक्रमको आवरणमा हुने राजनीतिक भेलाहरूले सुरक्षा चुनौती थप्ने भन्दै प्रशासनले यस्ता गतिविधि गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउने चेतावनी दिएको छ । होली पर्वलाई विशुद्ध सांस्कृतिक उत्सवका रूपमा मात्र मनाउन र निर्वाचन आचारसंहिताको गम्भीरतालाई बुझ्न सम्बद्ध सबै पक्षलाई आग्रह गरिएको छ ।

यसका साथै, होली पर्वलाई मर्यादित र भयरहित बनाउनका लागि कसैको इच्छा विपरीत रङ दल्ने, लोला हान्ने वा फोहोर पानी फाल्ने जस्ता उच्छृंखल गतिविधि नगर्न पनि प्रशासनले कडा निर्देशन दिएको छ । सार्वजनिक स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको र आचारसंहिता उल्लंघन गर्ने जोकोहीलाई तत्कालै नियन्त्रणमा लिई प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने जानकारी दिइएको छ । प्रशासनको यो निर्णयले यस वर्षको होली अघिल्ला वर्षहरूभन्दा शान्त तर राजनीतिक गतिविधिमुक्त हुने देखिएको छ ।


सम्बन्धित समाचार
भर्खरै