प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१५ फाल्गुण, काठमाडौं । अमेरिकी डलर साटिदिने प्रलोभन देखाएर कागजको बिटा थमाउँदै ठगी गर्ने गिरोहका एक मुख्य व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको स्वयम्भू क्षेत्रमा सक्रिय रहँदै आएका सिन्धुपाल्चोक बाह्रबिसेका ५१ वर्षीय देवबहादुर तामाङलाई प्रहरी वृत्त स्वयम्भूको टोलीले चन्द्रागिरी नगरपालिका–१३ पुरानो नैकापबाट नियन्त्रणमा लिएको हो । ठगीका लागि डलर देखाउने र लेनदेनको समयमा कागजको बिटा दिएर फरार हुने गरेको विशेष सूचनाका आधारमा प्रहरीले उनलाई पछ्याइरहेको थियो ।

जंगलमा बोलाएर पसल सञ्चालकहरूसँग ठगी

तामाङले विशेषगरी पसल सञ्चालकहरूलाई फोन गरेर आफूसँग सस्तो दरमा डलर रहेको र नेपाली रुपैयाँसँग साट्न चाहेको भन्दै लोभ देखाउने गरेको अनुसन्धानबाट खुलेको छ । उनले सुरक्षाको बहाना बनाउँदै मानिसहरूलाई नागार्जुनको रत्नराज्य स्कुल पछाडिको एकान्त जंगलमा बोलाउने गरेका थिए । डलर साट्न आउने व्यक्तिलाई सुरुमा सक्कली डलर देखाएर आश्वस्त पार्ने र रकम आदानप्रदानको अन्तिम समयमा डलरकै आकारमा काटिएका कागजका बिटा दिई उनी फरार हुने गर्दथे ।

कोठाबाटै बरामद भयो डलर र कागजका बिटा

पक्राउ परेपछि तामाङको कोठामा गरिएको खानतलासीका क्रममा प्रहरीले ठगीमा प्रयोग गरिने सामग्रीहरूको ठूलो परिमाण बरामद गरेको छ । उनको साथबाट अमेरिकी डलर ५० का ५ थान, १ डलरका ७०७ थान सक्कली नोट र ६ थान डलरकै साइजमा काटिएका कागजका बिटा फेला परेका छन् । बरामद गरिएका केही सक्कली नोटहरूलाई देखाउनका लागि मात्र प्रयोग गर्ने र बाँकी कागजका बिटाहरू झुक्याउनका लागि प्रयोग गर्ने गरेको प्रहरीको दाबी छ । हाल उनलाई हिरासतमा राखी ठगी मुद्दा अन्तर्गत थप कानुनी अनुसन्धान अघि बढाइएको छ ।


सम्बन्धित समाचार