प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१५ फाल्गुण, काठमाडौं । सरकारले भिजिट भिसामा विदेश भ्रमणमा जाने नेपाली नागरिकका लागि विद्यमान झन्झटिलो प्रावधानलाई हटाउँदै नयाँ र सहज मापदण्ड लागू गरेको छ ।

अध्यागमन विभागले यसअघि कायम रहेको ६ बुँदे मापदण्डलाई परिमार्जन गरी अब चार प्रकारका आधारभूत कागजात भए पुग्ने व्यवस्था गरेको हो ।
भागका प्रवक्ता टीकाराम ढकालका अनुसार, प्रक्रियागत अल्झन कम गरी यात्रुको आवागमनलाई सरल बनाउने उद्देश्यले यो निर्णय लिइएको हो । नयाँ व्यवस्थासँगै अब विदेश जाने पर्यटकहरूले अध्यागमनमा देखाउनुपर्ने कागजातको सूची छोटो पारिएको छ ।

चार कागजात भए उड्न पाइने, स्वघोषणा अनिवार्य

नयाँ मापदण्डअनुसार अब विदेश प्रस्थानका लागि सम्बन्धित मुलुकको भिसा, कम्तीमा ६ महिनाको वैध अवधि भएको राहदानी (पासपोर्ट) र दुईतर्फी हवाई टिकट भए पुग्नेछ । यी तीन कागजातका अतिरिक्त यात्रुले अनिवार्य रूपमा ‘स्वघोषणा फारम’ भर्नुपर्ने व्यवस्था गरिएको छ। प्रवक्ता ढकालले यात्रुहरूलाई विमानस्थल पुग्नुअगावै स्वघोषणा फारम भरेर मात्र अध्यागमन कक्षमा आउन आग्रह गर्नुभएको छ । यसअघि धेरै कागजात जुटाउनुपर्ने बाध्यताका कारण सर्वसाधारणले भोग्दै आएको सास्ती अब कम हुने विश्वास विभागले लिएको छ ।

पर्यटकका लागि सहज वातावरणको अपेक्षा

घुम्न, पारिवारिक भ्रमण वा पर्यटनका लागि विदेश जाने नेपालीहरूलाई लक्षित गरी ल्याइएको यो परिमार्जित नियमले अध्यागमन प्रक्रियालाई थप व्यवस्थित र छरितो बनाउने देखिएको छ । विभागले विशेषगरी पर्यटनको उद्देश्यले जानेहरूका लागि प्रक्रियालाई पारदर्शी बनाउन स्वघोषणा फारमलाई महत्त्व दिएको छ । यसले विमानस्थलमा हुने अनावश्यक सोधपुछ र ढिलाइलाई न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ । सरकारको यो कदमले वैदेशिक भ्रमणमा जाने नेपाली नागरिकलाई ठूलो राहत पुग्ने देखिएको छ ।


सम्बन्धित समाचार