१६ फागुन, जनकपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै नेपालको एक मात्र रेल सेवा ‘जनकपुर–जयनगर रेल्वे’ तीन दिनका लागि पूर्ण रूपमा बन्द हुने भएको छ। नेपाल रेल्वे कम्पनी लिमिटेडले निर्वाचनको समयमा सीमा क्षेत्रको सुरक्षा र शान्ति सुव्यवस्था कायम राख्न यस्तो निर्णय गरेको हो।
कम्पनीको केन्द्रीय कार्यालय जनकपुरधामले आज एक सूचना जारी गर्दै फागुन १९ गते मङ्गलबारदेखि फागुन २१ गते बिहीबारसम्म रेल सेवा स्थगित रहने जानकारी दिएको छ।
रेल्वे कम्पनीका अनुसार भङ्गाहा–जनकपुर–जयनगर खण्डमा सञ्चालन हुँदै आएका सबै रेल सेवाहरू निर्वाचनको अवधिभर चल्ने छैनन्। विशेषगरी नेपाल–भारत सीमा जोडिएको क्षेत्र भएकाले निर्वाचनका बेला सीमा नाका बन्द हुने र सुरक्षा संवेदनशीलता बढ्ने भएकाले रेल सेवा रोक्नुपरेको कम्पनीले जनाएको छ।
सूचनामा भनिएको छ, “फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा शान्ति सुरक्षाको प्रत्याभूति गराउने उद्देश्यले तीन दिनका लागि सेवा बन्द गरिएको हो। यसबाट यात्रु महानुभावहरूमा पर्न जाने असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ।”
निर्वाचन सम्पन्न भएलगत्तै फागुन २२ गते शुक्रबारदेखि भने रेल सेवा साविककै समय तालिकाअनुसार नियमित सञ्चालनमा आउनेछ। कम्पनीले रेल सेवा बन्द रहने तीन दिनको अवधिमा यात्रुहरूलाई वैकल्पिक यातायातका साधन प्रयोग गर्न समेत अनुरोध गरेको छ।
निर्वाचन आयोगले मतदानको समयमा सीमा नाकाहरू ७२ घण्टा अगावै बन्द गर्ने नीति अनुरूप नै रेल्वे सेवा पनि बन्द गरिएको बुझिएको छ। यसले निर्वाचनका बेला हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न मद्दत पुग्ने सुरक्षा निकायको विश्वास छ।

















