प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१७ फाल्गुण, काठमाडौं । आफ्ना सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्युको बदला लिन इरानले आइतबार बिहानैदेखि मध्यपूर्वमा सैन्य कारबाहीलाई तीव्र पारेको छ ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले इजरायलसहित यस क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडाहरूलाई निशाना बनाउँदै छैटौँ चरणको शक्तिशाली क्षेप्यास्त्र र ड्रोन आक्रमण सुरु गरेको छ । इरानको अर्धसरकारी समाचार एजेन्सी तास्मिनका अनुसार यो आक्रमण शृङ्खलाबद्ध रूपमा अघि बढाइएको हो, जसका कारण इजरायल, दुबई, कतार र बहराइनका विभिन्न सहरहरूमा ठूला विस्फोटका आवाजहरू सुनिएका छन् ।

आक्रमणको प्रभाव मध्यपूर्वका प्रमुख व्यावसायिक र रणनीतिक केन्द्रहरूमा देखिएको छ । इजरायलको मध्य र दक्षिणी क्षेत्रमा लगातार चेतावनीका साइरनहरू बजिरहेका छन् भने दुबईको जेबेल अली पोर्टमा ड्रोन खसाल्दा निस्किएको भग्नावशेषका कारण आगलागी भएको समाचार प्राप्त भएको छ । कतारको राजधानी दोहामा पनि शक्तिशाली विस्फोट हुँदा १६ जना घाइते भएको त्यहाँको गृह मन्त्रालयले पुष्टि गरेको छ । यस्तै, बहराइन र इराकको एर्बिल विमानस्थल आसपासमा पनि धुवाँको मुस्लो देखिएको छ, जसले गर्दा ती देशहरूले आफ्ना नागरिकलाई सुरक्षित स्थानमा जान र उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन् ।

इरानको यो पछिल्लो सैन्य कदमले विश्व राजनीति र सुरक्षा अवस्थालाई थप जटिल मोडमा पुर्‍याएको छ । इजरायली सेनाले आफ्नो रक्षा प्रणाली सक्रिय रहेको दाबी गरे पनि इरानबाट प्रहार भएका क्षेप्यास्त्रहरूले विभिन्न स्थानमा भौतिक क्षति पुर्‍याएको विवरणहरू सार्वजनिक भइरहेका छन् । मध्यपूर्वमा शक्ति राष्ट्रहरूबीच सुरु भएको यो सिधै टकरावले ठूलो क्षेत्रीय युद्धको खतरा निम्त्याएको छ । इरानले आफ्ना नेताको अवसानपछि झनै आक्रामक नीति अख्तियार गरेसँगै आगामी दिनमा यो तनाव कुन स्तरसम्म पुग्ने हो भन्ने विषयमा विश्व समुदाय चिन्तित बनेको छ ।


सम्बन्धित समाचार