प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१८ फागुन, काठमाडौँ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र खुसीको सन्देश बोकेको फागुपूर्णिमा अर्थात् होली पर्व आज नेपालका पहाडी तथा हिमाली जिल्लाहरूमा उत्साहका साथ मनाइँदैछ । प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्वलाई असत्यमाथि सत्यको विजय र सामाजिक सद्भावको प्रतीक मानिन्छ ।

केही वर्ष अघिसम्म काठमाडौँ उपत्यकालगायतका शहरहरूमा होलीका नाममा उत्ताउलोपन देखिने गरे पनि पछिल्लो समय यो पर्व सभ्य बन्दै गएको छ । प्रहरीको सक्रियता र जनचेतनाका कारण बाटोमा हिँड्नेलाई इच्छा विपरीत रङ हाल्ने र लोला हान्ने प्रवृत्तिमा उल्लेख्य कमी आएको छ । विशेषगरी हप्ता दिन अघिदेखि नै युवतीहरूलाई लक्षित गरी पानी छ्याप्ने विकृति लगभग अन्त्य भएको छ ।

भक्तपुरबाट पुतलीसडक काममा आएकी रमा केसी भन्छिन्, “पहिले-पहिले होलीको एक हप्ता अघिदेखि नै बाहिर निस्कन डर लाग्थ्यो, तर यस वर्ष अघिल्लो दिन पनि सहजै हिँड्डुल गर्न पाइयो ।”

होली पर्वको सम्बन्ध पौराणिक कथासँग जोडिएको छ । त्रेतायुगमा विष्णुभक्त प्रह्लादलाई मार्न खोज्ने राक्षसनी होलिका आफैँ भष्म भएको सम्झनामा यो पर्व मनाउन थालिएको जनविश्वास छ । त्यस्तै, द्वापरयुगमा श्रीकृष्णलाई मार्न आएकी राक्षसनी पुतनाको अन्त्य भएको खुसीयालीमा व्रजवासीले होली मनाएको धार्मिक ग्रन्थहरूमा उल्लेख छ ।

धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार, यो पर्वले शक्ति र सत्ताको दुरुपयोग गर्ने पापी प्रवृत्तिको अन्त्य हुने सन्देश दिन्छ ।

काठमाडौँको वसन्तपुरमा फागुन शुक्ल अष्टमीका दिन गाडिएको तीनतले ‘चिर’लाई आज विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगेर दाह गरिन्छ । उक्त चिरको खरानीलाई प्रसादको रूपमा टीका लगाउने चलन छ, जसले अनिष्ट टार्ने विश्वास गरिन्छ ।

आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई भात र राँगाको मासु खुवाउने परम्परा समेत रहेको छ । थकाली समुदायमा भने यो पर्व सात दिनसम्म चल्ने र तिर हान्ने प्रतियोगिता (तारा खेल) का साथ मनाउने गरिन्छ ।

होलीमा प्रयोग गरिने प्राकृतिक रङ र अबिरको आफ्नै स्वास्थ्य महत्त्व छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका डा. वंशदीप शर्मा खरेलका अनुसार, प्राकृतिक रङले छालाका रोग निवारणमा मद्दत गर्छ भने चिर जलाउँदा निस्कने धुवाँले जाडोयामका कीटाणुहरू नष्ट गर्न सहयोग पुर्‍याउँछ ।

विश्वभर रङ्गको उत्सव विभिन्न नाम र परम्परासहित मनाइन्छ। नेपाल र भारतमा होलीका रूपमा मनाइने यो पर्व अन्य देशहरूमा पनि फरक–फरक शैलीमा देखिन्छ। इटालीमा ‘बेलियाकोनोन्स’ नामले सुगन्धित जल छर्किएर उत्सव मनाइन्छ भने चीनमा ‘च्वेज’ नामले करिब १५ दिनसम्म विभिन्न कार्यक्रमसहित मनाइने प्रचलन छ। त्यस्तै अमेरिकामा ‘होबो’ नामक उत्सवमा मानिसहरू विभिन्न हास्यात्मक वेशभूषा लगाएर रमाइलो गर्ने गर्छन्। थाइल्याण्ड र म्यान्मारमा भने पानीको पूजा गर्दै पानी छ्याप्ने परम्परासहित यो प्रकारको उत्सव मनाइन्छ।

पहाडी भेगमा आज होली मनाइए पनि तराईका जिल्लाहरूमा भने भोलि मङ्गलबार यो पर्व मनाइँदैछ । सरकारले आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ ।


सम्बन्धित समाचार
भर्खरै