Logo

२ वैशाख, वीरगञ्ज । मधेस प्रदेशमा २४ करोडभन्दा बढिका ल्याब सामग्री प्रयोगविहीन भएका छन् । प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनुषाले खरिद गरेको २४ करोड ४८ लाख ३ हजार मूल्य बराबरको ल्याब सामग्री प्रयोगविहीन भएका हुन् ।
लेखापरीक्षणको अवधिसम्म उक्त मूल्य बराबरको सामग्रीहरू प्रयोगशालामै मौज्दात रहेको महालेखापरीक्षकको कार्यालयले गत बिहीबार सार्वजनिक गरेको ६० औं वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाले प्रदेशको ६४ स्थानीय तहमा प्रयोगशाला स्थापना गर्न विशेष परिस्थितिजन्य कारण उल्लेख गरी आर्थिक वर्ष ०७८/७९ को अन्त्यमा सो मूल्य बराबरको ल्याब सामग्री खरिद गरेको थियो । तर, ती सामग्रीहरू जिल्ला सदरमुकाममै मौज्दात रहँदा स्थानीय तहमा अहिलेसम्म प्रयोग भने हुन नसकेको हो ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६६ मा विशेष परिस्थितिमा खरिद गर्ने सम्बन्धी व्यवस्था छ । खरिद गरिएका करोडौं मूल्यका ती सामान प्रयोगमा ल्याइएको प्रमाणसमेत पेस नभएको प्रतिवेदनमा उल्लेख छ ।
ल्याब सामग्रीको प्रयोग नहुँदा थाइराइडको जाँच, सोडियम, पोटासियमलगायत सामान्य जाँच गर्न पनि बिरामीहरू ठुला शहरमा जान बाध्य हुदैँ आएका छन् ।

यता, प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र जनकपुरधामले १६ लाख ४३ हजार रुपैयाँमा खरिद गरेको विभिन्न ४ प्रकारका पौष्टिक आहार प्रयोग नै नभएको देखिएको छ । जसका कारण हाल पौष्टिक आहार पनि प्रयोगविहीन भएर म्याद गुज्रिएको अवस्थामा पुगेको छ ।
उत्पादन भएको मितिबाट ६ महिनासम्ममा प्रयोग गर्न उत्तम हुने उल्लेख भएकोमा केन्द्रबाट हस्तान्तरण भई २०७९ वैशाख ८ गते प्रादेशिक अस्पताल लहानमा हस्तान्तरण भएका १६ लाख ४३ हजार मूल्यका ५ हजार ८९६ किलोग्राम पौष्टिक आहार प्रयोग नभई म्याद गुज्रेको पाइएको हो ।


सम्बन्धित समाचार