प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

२० फागुन, काठमाडौं । ट्रान्जिट परेर संयुक्त अरब इमिरेट्स (यूएई) मा रोकिएका नेपालीहरूको विवरण संकलन सुरु गरिएको छ ।

नेपाल फर्किने वा तेस्रो मुलुक जाने क्रममा हालको असहज परिस्थितिका कारण यूएईमा अलपत्र परेका नेपालीहरूको पहिचान तथा आवश्यक सहयोगका लागि कन्सुलर सेवा विभाग ले अनलाइनमार्फत विवरण संकलन थालेको हो ।

विभागले यूएई ट्रान्जिटमा रोकिएका तथा कम्पनीको भिसा रद्द भई नेपाल फर्किने क्रममा समस्या भोगिरहेका नेपालीलाई आफ्नो विवरण अनलाइन पोर्टल वा क्युआर कोडमार्फत उपलब्ध गराउन अनुरोध गरेको छ । परराष्ट्र मन्त्रालय ले इरान–इजरायल–अमेरिका द्वन्द्वका कारण प्रभावित नेपालीहरूको उद्धार तथा सहायताका लागि विशेष अनलाइन प्रणाली सञ्चालनमा ल्याएको जनाएको छ ।

मन्त्रालयका सहसचिव रामजी खड्काका अनुसार हाल करिब २५० नेपाली यूएईमा ट्रान्जिटमा रोकिएका छन् । यो संख्या बढेर एक हजारसम्म पुग्न सक्ने अनुमान गरिएको उनले बताए । अबुधाबी र कुवेतबाट प्राप्त विवरणअनुसार साढे दुई सय हाराहारी नेपाली ट्रान्जिटमा परेको जानकारी आएको छ ।

सहसचिव खड्काले हाल ती यात्रु सम्बन्धित एयरलाइन्सकै जिम्मामा रहेको उल्लेख गर्दै नेपाल ल्याउने वा गन्तव्य मुलुक पठाउने दायित्व पनि सम्बन्धित एयरलाइन्सकै भएको बताए ।

उडान सुचारु नभएसम्म अस्थायी रूपमा खानाबस्नको व्यवस्था मिलाइएको र हवाई सेवा खुल्नेबित्तिकै प्राथमिकताका साथ उनीहरूलाई गन्तव्यमा पुर्‍याइने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।


सम्बन्धित समाचार