२१ फागुन, काठमाडौँ । अमेरिका र इजरायलको संयुक्त सैन्य कारबाहीको पाँचौँ दिन इजरायली वायुसेनाले इरानका मुख्य सहरहरूमा भीषण हवाई आक्रमण गरेको छ। सुरक्षा बल र रणनीतिक ठेगानाहरूलाई लक्षित गरी गरिएको यस आक्रमणमा परी हालसम्म मृत्यु हुनेको संख्या १ हजार ४५ पुगेको छ भने मध्यपूर्वको तनावले विश्वयुद्धकै खतरा निम्त्याएको छ ।
इरानी समाचार एजेन्सी ‘तस्निम’का अनुसार बुधबार इजरायलले राजधानी तेहरान, पवित्र सहर कोम, पश्चिमी इरान र औद्योगिक प्रान्त इसफाहानलाई निशाना बनाएको छ। इजरायलले विशेष गरी इरानको रिभोलुसनरी गार्ड्स (IRGC) अन्तर्गतको ‘बसिज’ बल र आन्तरिक सुरक्षा कमाण्डका भवनहरू ध्वस्त पारेको दाबी गरेको छ। आक्रमणबाट ठूलो संख्यामा आवासीय भवनहरूमा समेत क्षति पुगेको छ। अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (IAEA) ले इसफाहान आणविक केन्द्र नजिकै क्षति पुगे पनि आणविक सामग्रीहरू सुरक्षित रहेको र रेडियोधर्मी चुहावटको जोखिम नरहेको पुष्टि गरेको छ।
यस युद्धको सबैभन्दा ठूलो मूल्य सर्वसाधारणले चुकाउनु परेको छ। हालसम्म ६ हजार भन्दा बढी घाइते भएका छन्, जसमा ३०० भन्दा बढी बालबालिका र किशोरकिशोरी गम्भीर अवस्थामा अस्पताल भर्ना भएका छन्। संयुक्त राष्ट्र संघका अनुसार युद्धको त्रासका कारण फेब्रुअरी २८ देखि मार्च १ को बीचमा मात्रै करिब १ लाख मानिसले राजधानी तेहरान छाडेका छन्।
गत शनिबारको आक्रमणमा सर्वोच्च नेता आयतोल्लाह अली खामेनी र रक्षामन्त्री अमिर नासिरजादेह मारिएपछि इरान नेतृत्व संकटमा छ। उनीहरूको अन्त्येष्टि समारोहमा लाखौँको उपस्थिति हुने अपेक्षा गरिएको छ, जसले सुरक्षा चुनौती थप जटिल बनाएको छ। यसैबीच, नयाँ सर्वोच्च नेता चयनका लागि ‘एसेम्बली अफ एक्सपर्ट्स’ले प्रक्रिया तीव्र पारेको छ। पश्चिमी सञ्चारमाध्यमहरूले मोज्ताबा खामेनीलाई आगामी नेताको मुख्य दाबेदारका रूपमा हेरेका छन्।
इजरायली रक्षामन्त्री इजरायल काट्जले चेतावनी दिँदै भनेका छन्, “इजरायल र स्वतन्त्र विश्वलाई धम्काउने जोसुकै नयाँ नेता पनि हाम्रो निसानामा हुनेछन्।” उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी नेतृत्व ‘भताभुङ्ग’ भएको टिप्पणी गरेका छन्। यसको प्रतिवाद गर्दै इरानी विदेशमन्त्री अब्बास अराघचीले ट्रम्पले कूटनीतिलाई धोका दिएको र वार्ताको टेबलमा बमबारी गरेको आरोप लगाउनुभएको छ। इरानले पनि प्रतिशोधात्मक आक्रमण सुरु गर्दै मध्यपूर्वका सैन्य र आर्थिक पूर्वाधारहरू ध्वस्त पारिदिने चेतावनी दिएको छ।

















