२१ फागुन, रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका-६, कर्कच टोलमा मदिरा सेवन गरी भएको विवादमा एक युवकमाथि छुरा प्रहार भएको छ। बुधबार साँझ सामान्य विवादले उग्र रूप लिँदा आफ्नै दाजुभाइबीच खुकुरी र छुरा हानाहान भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार स्थानीय २२ वर्षीय राकेश कुमार दास र २१ वर्षीय अवधेश कुमार दासबीच बुधबार साँझ करिब साढे ५ बजे मदिरा सेवन गर्ने क्रममा विवाद सुरु भएको थियो। विवाद बढ्दै जाँदा अवधेशले आफ्नै दाजु राकेशमाथि छुरा प्रहार गरेका थिए। छुरा प्रहारबाट राकेशको पिठ्युँ र अनुहारमा गम्भीर चोट लागेको छ ।
घाइते राकेशलाई तत्कालै उद्धार गरी उपचारका लागि सामुदायिक अस्पताल कटहरियामा भर्ना गरिएको छ। उपचारमा संलग्न चिकित्सकहरूका अनुसार उनको चोट गहिरो भएकाले अनुहार र पिठ्युँमा गरी १० वटा टाँका लगाइएको छ । हाल उनको अवस्था खतरामुक्त रहेको अस्पताल स्रोतले जनाएको छ ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कटहरिया र इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट इन्स्पेक्टर तेजप्रसाद भट्टराईको कमान्डमा विशेष प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनामा संलग्न आरोपी अवधेश कुमार दास भने फरार रहेका छन् ।
इन्स्पेक्टर भट्टराईका अनुसार फरार आरोपीको खोजीका लागि सम्भावित स्थानहरूमा प्रहरी परिचालन गरिएको छ । मदिरा सेवनकै कारण दाजुभाइबीच यस्तो अप्रिय घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

















