२१ फागुन,काठमाडौं । अस्ट्रेलियाले मध्यपूर्वमा आफ्ना नागरिक उद्धारका लागि आकस्मिक योजनाअन्तर्गत दुईवटा सैन्य विमान तैनाथ गरेको छ। अधिकारीहरूलाई उद्धृत गर्दै एएफपीले यो जानकारी दिएको छ।
इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्युपछि क्षेत्रीय तनाव र अमेरिका–इजरायली आक्रमणले मध्यपूर्वमा युद्धको अवस्था सिर्जना भएपछि विभिन्न देशहरूले आफ्ना नागरिकहरूको सुरक्षित निस्कासनमा हतार गरिरहेका छन्।
अस्ट्रेलियाले यस क्षेत्रमा विमान तैनाथ गरी नागरिकहरूको सुरक्षित यातायात सुनिश्चित गरेको छ। प्रधानमन्त्री एन्थोनी अल्बनिजले बिहीबार संसदमा सैन्य विमान तैनाथ गरिएको पुष्टि गर्दै “खतरनाक परिस्थितिमा अस्ट्रेलियालीहरूको सहयोगका लागि यो कदम उठाएको” जानकारी दिएका छन्।
यसअघि बुधबार दुबईबाट पहिलो उद्धार उडान सिड्नीका लागि उडेको थियो। अस्ट्रेलियाले यस क्षेत्रमा करिब १ लाख १५ हजार नागरिक रहेको जनाएको छ।
न्युजिल्यान्डले पनि आफ्ना नागरिकहरूको सुरक्षित निस्कासनको लागि बिहीबार मध्यपूर्वमा दुईवटा सैन्य विमान तैनाथ गर्ने आदेश दिएको छ।

















