Logo

३ बैशाख, चितवन । कोरोना संक्रमणका कारण भरतपुरमा एक जनाको मृत्यु भएको छ । चितवन स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालका अनुसार कोरोना संक्रमण भएर चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा उपचार गराइरहेका भरतपुर महानगरपालिका–१० का ६४ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको हो।

योसहित चितवनमा कोरोना सक्रमित भएकामध्ये हालसम्म ४५१ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयको विवरणमा उल्लेख छ । चितवनमा ८ महिना पछि कारोना संक्रमणबाट एक जनाको मृत्यु भएको हो । यसअघि चितवनमा कोरोनाका कारण साउन २३ मा एक जनाको मृत्यु भएको थियो । त्यसयता संक्रमण नरोकिए पनि निधन भएको थिएन ।

गत कात्तिक १८ पछि चितवनमा कोरोना संक्रमण शून्यमा पुगेको थियो । कात्तिकपछि गएको चैत्र २१ मा दुई जनामा संक्रमण भेटिएको थियो । हालसम्म चितवनमा कोरोना संक्रमण हुनेहरुको कुल संख्या ३४ हजार ५० पुगेको छ ।

जसमध्ये निको हुन बाँकी सक्रिय संक्रमितहरु हाल १० जना छन् । संक्रमण बढ्न थालेको हुँदा सजग रहेर स्वास्थ्य मापदण्ड पालन गर्न स्वास्थ्य कार्यालयका प्रमुख दुर्गा चापागाईंले अनुरोध गरेका छन् ।


सम्बन्धित समाचार