Logo

 २४ फागुन,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा–५ बाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई झन्डै ५० हजार मतान्तरले पराजित गर्दै ऐतिहासिक जीत हासिल गरेका छन्।

निर्वाचन परिणामअनुसार बालेनले ६८ हजार ३ सय ४८ मत प्राप्त गर्दा ओलीले १८ हजार ७ सय ३४ मत मात्रै प्राप्त गरेका छन्। जेन–जी आन्दोलनपछि भएको यस निर्वाचनलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले पनि विशेष महत्वका साथ कभरेज गरेका छन्, जसको केन्द्रमा प्रस्तावित भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन शाह रहेका छन्।

बेलायती समाचार एजेन्सी रोयटर्सले ‘नयाँ शैलीको चुनावी अभियान: बालेन शाहलाई सत्ताको नजिक पुर्‍याउँदै राष्ट्रिय स्वतन्त्र पार्टी’ शीर्षकमा समाचार प्रकाशित गर्दै रास्वपाको अभियानलाई पारम्परिक राजनीतिमाथि चुनौतीका रूपमा विश्लेषण गरेको छ। समाचारमा युवा–केन्द्रित रणनीति, सामाजिक सञ्जालको व्यापक प्रयोग तथा विदेशमा रहेका नेपालीहरूको आर्थिक सहयोगका कारण अभियान देशव्यापी चर्चामा रहेको उल्लेख गरिएको छ।

रोयटर्सका अनुसार रास्वपाको चुनावी अभियानको केन्द्रमा ‘रिसर्च, स्ट्राटेजी एण्ड डकुमेन्टेशन विभाग’ रहेको थियो, जसअन्तर्गत करिब ३०० कार्यकर्ता तीन राष्ट्रिय समूहमा विभाजित भएर रणनीति निर्माण, सभा–र्‍याली आयोजना, अनलाइन सामग्री उत्पादन र जनप्रतिनिधिहरूको प्रतिक्रिया संकलन गर्ने काममा सक्रिय थिए। पार्टीको ६६० सदस्यीय सामाजिक सञ्जाल टोलीले बालेनका भाषण र कार्यक्रमहरूलाई देशभर फैलाउने काम गरेको पनि समाचारमा उल्लेख छ।

बीबीसी विश्वसेवाले भने बालेन शाहलाई ‘र्‍यापर–राजनेता’ का रूपमा चित्रण गर्दै “नेपालका आगामी प्रधानमन्त्री बन्ने दिशातर्फ अघि बढ्दै” शीर्षकमा समाचार प्रकाशित गरेको छ। बालेनले चुनावी अभियानका क्रममा गाडीको सनरुफबाट समर्थकहरूसँग हात मिलाइरहेको तस्वीरसमेत प्रकाशित गर्दै यस निर्वाचनले नेपालको राजनीतिक दिशामा ठूलो परिवर्तन ल्याउन सक्ने संकेत गरेको बीबीसीले जनाएको छ।

चुनावी अभियानका क्रममा फाइनान्सियल टाइम्ससँग बालेनले “म सम्पूर्ण नेपालका लागि उम्मेदवार हुँ” भन्ने अभिव्यक्ति दिएको उल्लेख गर्दै उनले आफूलाई कुनै एक निर्वाचन क्षेत्रभन्दा बढी देशव्यापी प्रतिनिधित्वका रूपमा प्रस्तुत गर्न खोजेको विश्लेषण गरिएको छ।

भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले पनि ‘केपी शर्मा ओलीलाई आफ्नै क्षेत्रमा पराजित गर्दै बालेन शाह विजयी, नेपालकै सबैभन्दा कान्छो प्रधानमन्त्री बन्ने तयारी’ शीर्षकमा समाचार प्रकाशित गरेको छ।

भारतकै समाचार एजेन्सी एएनआईले भने ओलीले चुनावी जितका अवसरमा बालेनलाई बधाई दिएको विषयलाई प्राथमिकताका साथ प्रकाशित गर्दै ठूलो मतान्तरसहितको विजयपछि बालेन प्रतिनिधिसभामा प्रवेश गरेको र उनी प्रधानमन्त्री बन्ने सम्भावना बलियो भएको उल्लेख गरेको छ।

यस्तै एशोसियटेड प्रेस (एपी) ले बालेन शाहको उदयलाई नेपाली राजनीतिमा नयाँ पुस्ताको उदय र परिवर्तनको संकेतका रूपमा व्याख्या गरेको छ। परम्परागत राजनीतिक दलप्रति बढ्दो जनआक्रोश र परिवर्तनको चाहनाको परिणामस्वरूप उनको विजय भएको विश्लेषण पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले गरेका छन्।

यसपटकको निर्वाचनले नेपालको राजनीतिक इतिहासमा नयाँ अध्याय सुरु गर्ने संकेत दिएको टिप्पणी विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले गरेका छन्।


सम्बन्धित समाचार
भर्खरै