२६ फाल्गुण, काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय कारोबार गर्दा हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै सर्वसाधारणका लागि महत्वपूर्ण सचेतना सन्देश जारी गरेको छ ।
वित्तीय चेतना फैलाउने उद्देश्यले केन्द्रीय बैंकले सार्वजनिक गरेको जानकारीमा कुनै पनि वित्तीय सम्झौता वा कागजमा हस्ताक्षर गर्नुअघि त्यहाँ उल्लेख गरिएका सर्तहरूलाई राम्ररी बुझ्न आग्रह गरिएको छ। हस्ताक्षर गरिसकेपछि भविष्यमा उत्पन्न हुन सक्ने कानुनी वा आर्थिक जटिलताका कारण पछुताउनु पर्ने अवस्था नआओस् भन्नका लागि नबुझेका बुँदाहरूमा स्पष्ट रूपमा प्रश्न सोध्न राष्ट्र बैंकले सुझाव दिएको छ ।
सर्तहरूको पालना र कानुनी दायित्व
जुनसुकै प्रकारको वित्तीय कारोबारमा संलग्न हुँदा सेवा प्रदायक र ग्राहक दुवै पक्ष निश्चित सर्तहरूमा बाँधिएका हुन्छन्। यी सर्तहरूको पूर्ण पालना गर्नु दुवै पक्षको कानुनी दायित्व भएको उल्लेख गर्दै राष्ट्र बैंकले सेवा लिनुअघि सबै बुँदाहरू पढ्ने र प्रष्ट हुने बानी बसाल्न आग्रह गरेको छ । यदि कुनै सर्त बुझ्न कठिन भएमा ग्राहकले प्रश्न सोधी प्रष्ट हुने अधिकार राख्छन् भने ग्राहकलाई ती सर्तहरू सरल भाषामा बुझाउने मुख्य जिम्मेवारी सम्बन्धित वित्तीय सेवा प्रदायक संस्थाको हुनेछ।
कागजातको सुरक्षा र आपसी जिम्मेवारी
वित्तीय पारदर्शीता कायम राख्नका लागि ग्राहकले हस्ताक्षर गरेका हरेक कागजातको एक प्रति आफूसँग सुरक्षित राख्नुपर्ने राष्ट्र बैंकको भनाइ छ । नियमानुसार कारोबारका लागि आवश्यक पर्ने सही सूचना र विवरण उपलब्ध गराउनु ग्राहकको दायित्व हो भने ग्राहकले सोधेका जिज्ञासाको सही र सरल जवाफ दिनु सेवा प्रदायकको अनिवार्य कर्तव्य हो । यसरी दुवै पक्ष जिम्मेवार भएमा वित्तीय ठगी नियन्त्रण हुनुका साथै सुरक्षित बैंकिङ वातावरण निर्माण हुने विश्वास केन्द्रीय बैंकले लिएको छ।

















