२७ फागुन, काठमाडौँ । संयुक्त राज्य अमेरिका र इजरायलले इरानका विभिन्न शहरहरूमा गरेका सैन्य हमलाहरूमा परी हालसम्म १,३०० भन्दा बढी सर्वसाधारणको मृत्यु भएको छ। संयुक्त राष्ट्र संघका लागि इरानी राजदूत अमिर सइद इरावानीले अमेरिका र इजरायलले जानाजानी नागरिक बस्ती र पूर्वाधारलाई निशाना बनाएको गम्भीर आरोप लगाएका छन् ।
संयुक्त राष्ट्र संघको एक ब्रिफिङमा बोल्दै राजदूत इरावानीले जारी द्वन्द्वका कारण इरानमा ठूलो मानवीय र भौतिक क्षति भएको विवरण सार्वजनिक गरेका हुन् ।
इरानी दाबी अनुसार हालसम्म ९ हजार ६ सय ६९ वटा नागरिक स्थलहरू पूर्ण रूपमा ध्वस्त भएका छन्। जसमा झण्डै ८ हजार आवासीय घरहरू, व्यावसायिक केन्द्र तथा बजारहरू, विद्यालय तथा शैक्षिक संस्थाहरू, औषधि उत्पादन केन्द्र र स्वास्थ्य सुविधाहरू रहेका छन्। इरावानीले स्वास्थ्य र शिक्षा जस्ता संवेदनशील क्षेत्रमा गरिएका यी हमलाहरूलाई ‘भयानक अपराध’ को संज्ञा दिएका छन् ।
विशेष गरी मार्च ५ र ७ को राति तेहरान लगायतका मुख्य शहरका इन्धन भण्डारण केन्द्रहरूमा गरिएका भारी बमबारीले नयाँ संकट निम्त्याएको छ। राजदूत इरावानीका अनुसार ती हमलाका कारण वायुमण्डलमा ठूलो मात्रामा खतरनाक र विषाक्त प्रदूषकहरू फैलिएका छन्।
गत मार्च ८ को बिहान भएको वर्षाले ती प्रदूषकहरूलाई ‘अत्यधिक अम्लीय वर्षा’को रूपमा जमिनमा झारेको छ। यसले गर्दा सर्वसाधारणमा श्वासप्रश्वासको समस्या र वातावरणीय प्रदूषणको गम्भीर जोखिम बढेको बताइएको छ। हाल तेहरानका सबै चिकित्सा केन्द्रहरूलाई ‘हाई अलर्ट’ मा राखिएको छ भने नागरिकहरूलाई घरभित्रै रहन प्रशासनले विशेष अपिल गरेको छ।
राजदूत इरावानीले यी हमलाहरूले संयुक्त राष्ट्र संघको जलवायु परिवर्तन सम्बन्धी खाका महासन्धि र जैविक विविधता सम्बन्धी महासन्धिको खुला उल्लंघन गरेको दाबी गरे। उनले संयुक्त राष्ट्र सुरक्षा परिषद्ले इरानमा भइरहेको यो भयावह अवस्थाप्रति ‘आँखा चिम्लिएको’ भन्दै कडा आलोचना समेत गरे।

















