२८ फाल्गुण, काठमाडौं । सुर्खेतकी १६ वर्षीया किशोरी इनिसा बिकको बलात्कारपछिको विभत्स हत्या प्रकरणले नयाँ मोड लिएको छ ।
स्थानीय प्रहरीले गरिरहेको अनुसन्धानलाई थप सुक्ष्म र प्रभावकारी बनाउन केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को विज्ञ टोली बिहीबार सुर्खेत आइपुगेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रारम्भिक चरणको अनुसन्धान सम्पन्न गरे पनि घटनाको गहिराइसम्म पुग्न र अपराधीलाई कानुनी कठघरामा उभ्याउन केन्द्रबाटै विज्ञहरूको सहयोग मागेको हो ।
प्रहरी उपरीक्षक सुधिरराज शाहीका अनुसार प्रहरी निरीक्षकको कमान्डमा आएको ब्युरोको यो टोलीले प्राविधिक र फोरेन्सिक पक्षलाई केन्द्रमा राखेर अनुसन्धानलाई अगाडि बढाउनेछ । यस संवेदनशील घटनाको सत्यतथ्य बाहिर ल्याउन प्रहरीले विभिन्न वैज्ञानिक विधिहरूको प्रयोग गरिरहेको छ । मृतक इनिसाको पोस्टमार्टम रिपोर्ट आइसकेको अवस्थामा अब पीडित र पीडक दुवै पक्षका मोबाइल लगायतका विद्युतीय सामग्रीहरूको फरेन्सिक ल्याबमा परीक्षण भइरहेको छ ।
कल डिटेल्स र डिजिटल संवादहरूले घटनाको पूर्वसन्ध्यामा भएका गतिविधिहरू स्पष्ट पार्ने प्रहरीको विश्वास छ । यसका साथै केन्द्रीय विधिविज्ञान प्रयोगशालामा पठाइएका टक्सिकोलोजिकल र बायोसेरोलोजिकल परीक्षणका रिपोर्टहरू प्राप्त हुनासाथ हत्याको अन्तिम निष्कर्षमा पुग्न सकिने उपरीक्षक शाहीले जानकारी दिनुभएको छ ।
अनुसन्धानलाई थप विश्वसनीय बनाउन कर्णाली प्रदेश प्रहरी कार्यालयबाट पोलिग्राफ परीक्षण गर्ने टोली पनि वीरेन्द्रनगर आइपुगेको छ । शंकास्पद व्यक्तिहरूले बोलेका कुराहरूको सत्यता जाँच्न पोलिग्राफ मेसिनको सहायता लिइनेछ, जसले झुटो बयानलाई पहिचान गर्न मद्दत पुर्याउनेछ । घटनास्थलबाट संकलित सम्पूर्ण भौतिक प्रमाणहरू र विद्युतीय रेकर्डहरूको सूक्ष्म विश्लेषण भइरहेकाले यो जघन्य अपराधको रहस्य चाँडै खुल्ने र दोषीले उन्मुक्ति नपाउनेमा प्रहरी प्रशासनले आश्वस्त पारेको छ ।

















