२८ फागुन,रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका प्रहरी युनिटहरूले गरिब तथा विपन्न नागरिकका लागि सञ्चालन गरेको निःशुल्क निवेदन लेख्ने सेवा बन्द भएको छ।
सुनसरीका तत्कालीन प्रहरी प्रमुख एसपी दिलिप घिमिरेको निर्देशनमा सुरु गरिएको यो पहलअन्तर्गत ठाडो निवेदन (उजुरी) निःशुल्क लेखिदिने व्यवस्था सञ्चालनमा आएको थियो। जिल्लाका सबै प्रहरी कार्यालयमा पीडित नागरिकले निःशुल्क निवेदन लेखाउने र आवश्यक फर्म उपलब्ध गराउने सुविधा पाइरहेका थिए।
गत वर्ष माघ १२ गतेदेखि शुरु भएको उक्त सेवामा एक महिनाभित्रै जिल्लाभर ४२६ जना लाभान्वित भएका थिए। प्रहरी तथ्याङ्कअनुसार इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा ९१, गरुडामा ५५, जिल्ला प्रहरी कार्यालय रौतहटमा २९ र मौलापुरमा २० जनाले निःशुल्क सेवा लिएका थिए।
कुल २३४ जनाको निवेदन प्रहरीले नै लेखिदिएको थियो भने १९२ जनाले प्रहरीले उपलब्ध गराएको ढाँचामा स्वयं निवेदन भरेका थिए। यसअघि सामान्य ठाडो निवेदन लेखिदिनेबापत लेखनदासलाई ३००–७०० रुपैयाँसम्म बुझाउनुपर्ने बाध्यता थियो।
प्रहरीले निःशुल्क सेवा सुरु गरेपछि जिल्लाका दर्जनौँ निवेदन लेख्ने पसलहरू बन्द भएका थिए र पहलको जिल्लावासीले प्रशंसा गरेका थिए। तर एसपी घिमिरेको सरुवा भएपछि केही महिनादेखि यो सुविधा बन्द भएको छ। परिणामस्वरूप अहिले पुनः पीडित नागरिकले सामान्य निवेदन लेखाउनसमेत पैसा खर्च गर्नुपर्ने अवस्था सिर्जना भएको छ।

















