२८ फागुन,वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट नवनिर्वाचित सांसद सुशील कुमार कानुले वीरगञ्जस्थित मानव सेवा आश्रममा पुगेर आश्रम र त्यहाँ रहेका आश्रीतहरूको अवस्था र समस्याबारे जानकारी लिएका छन्।
बिहीबार बिहान पर्सा–४ का नवनिर्वाचित सांसद टेकबहादुर शाक्यसंगै आश्रम पुगेका कानुले आश्रममा आश्रीत ६० भन्दा बढी लक्ष्मीनारायणहरूसँग बिहानको भोजनमा पनि सहभागी भएका थिए।
यसअघि कानुले आश्रमका संस्थापक, संरक्षक र प्रमुखसँग भेट गरी सञ्चालनमा देखिएका चुनौती र आवश्यक सहयोगबारे जानकारी लिएका थिए। उनले संघीय तथा स्थानीय सरकारबाट आवश्यक सहयोगमा सधैं सकारात्मक रहने प्रतिबद्धता व्यक्त गर्दै भने, “हिजो वडा अध्यक्ष हुँदा पनि समाजका लागि धेरै काम गरेको थिएँ, अब सांसद भएपछि मानव सेवा आश्रमका लागि जे–जे गर्नुपर्ने हुन्छ, त्यसमा म सधैं साथ र सहयोग गर्न तयार छु।”
कानुले आश्रमले मानवताको उच्च आदर्श बोकेर समाजका असहाय, बेवारिसे र सहाराविहीन नागरिकहरूको संरक्षण गर्दै आएको कार्य अत्यन्तै प्रशंसनीय र प्रेरणादायी भएको बताए।
साथै, पर्सा–४ का सांसद शाक्यले पनि आश्रमले समाजलाई एकताबद्ध बनाउने सेवामूलक कार्यलाई प्राथमिकताका साथ समर्थन गर्ने बताए र आश्रमलाई १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने घोषणा गरे।
उक्त अवसरमा रास्वपा युवा नेता सुधिर पटेल, आश्रमका संरक्षक, मधेस विश्वविद्यालयका उपकुलपति डा. दिपक शाक्य, आश्रमका संस्थापक देवेश गुप्ता, सामाजिक अभियन्ता प्रकाश थारू लगायतको उपस्थिती रहेको थियो।

















