Logo

२८ फाल्गुण, काठमाडौं । धनुषा क्षेत्र नम्बर १ को निर्वाचन परिणामलाई लिएर लामो समयदेखि जारी अन्योल चिर्दै निर्वाचन आयोगले अन्ततः नेकपाका उम्मेदवार मातृका यादवलाई विजयी घोषणा गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी कालोसूचीका कारण खारेज भए पनि मतदानका क्रममा उनको पक्षमा अत्यधिक मत खसेपछि यो क्षेत्र निकै विवादित बनेको थियो । आयोगले उम्मेदवारी खारेज भइसकेका व्यक्तिको मतलाई गणनाको वैधानिकता नदिई आफ्नो वेबसाइटमा समेत अद्यावधिक नगरेपछि दोस्रो स्थानमा रहेका यादव नै स्वतः पहिलो स्थानमा कायम भई निर्वाचित हुन सफल भएका हुन् ।

यसअघि निर्वाचन अधिकृतको कार्यालयले यादवलाई विजयी घोषणा गरी प्रमाणपत्र उपलब्ध गराउन ढिलाइ गरेपछि नेकपाले कडा विरोध जनाएको थियो । रास्वपाका साहले आफ्नो उम्मेदवारी खारेजी विरुद्ध अदालतमा मुद्दा दायर गरेका थिए, जसको अन्तिम फैसला शुक्रबार आउने तय भएको छ । तर, आयोगले कानुनी रूपमा उम्मेदवारी नै नरहेको व्यक्तिको मतलाई शून्य सरह मानी चुनावी प्रक्रियालाई टुङ्ग्याएको हो । यससँगै धनुषा–१ को नतिजा सार्वजनिक भएसँगै आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको अन्तिम मतपरिणाम र विजेताहरूको सूची पूर्ण गरेको छ ।

पछिल्लो चुनावी तथ्याङ्क अनुसार रास्वपाले १२५ सिटसहित ऐतिहासिक सफलता हासिल गरेको छ भने नेपाली कांग्रेस १८ र नेकपा एमाले ९ सिटमा सीमित भएका छन् । मातृका यादवको यो जितसँगै नेकपाको कुल सिट संख्या ८ पुगेको छ ।

प्रत्यक्षतर्फको सबै नतिजा आइसकेको र समानुपातिकको पनि गणना सकिएकाले अब नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया सुरु हुने बाटो खुलेको छ । धनुषाको यो घटनाले नेपाली चुनावी इतिहासमा उम्मेदवारी खारेजी र जनमतको रोचक कानुनी द्वन्द्वलाई समेत उजागर गरेको छ ।


सम्बन्धित समाचार